दुहूँमा सुरक्षित खाद्य र बालविवाहविरुद्ध सडक नाटक तथा देउडा प्रदर्शन

दार्चुला । दार्चुलाको दुहूँ गाउँपालिका–४ जोशीगाउँमा सुरक्षित खाद्य अभियान तथा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक तथा देउडा प्रदर्शन गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज नेपाल, दार्चुलाद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना र अवसर परियोजनाको आयोजनामा तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल र गणेश माध्यमिक विद्यालय सिमलीको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो । दुहूँ गाउँपालिकाको समन्वयमा शनिबार कार्यक्रम आयोजना गरिएको थियो ।

दुहूँ गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का अध्यक्ष देवबहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा गणेश माध्यमिक विद्यालयका बाल क्लबका विद्यार्थीहरूले विषादीरहित तरकारी तथा खाद्य वस्तुको प्रयोगसम्बन्धी सडक नाटक प्रस्तुत गरेको परियोजना अधिकृत मनोरथ जोशीले जानकारी दिए ।

यस्तै, बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक, नृत्य तथा देउडा प्रदर्शनसमेत गरिएको उनले बताए । महिला समूहका सदस्यहरूले पनि सुरक्षित खाद्य तथा बालविवाह न्यूनीकरणसम्बन्धी सन्देशमूलक देउडा प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षक, महिला, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्षलगायत सहभागीहरूले सुरक्षित खाद्य तथा बालविवाह न्यूनीकरणका विषयमा मन्तव्य राखेका थिए । सडक नाटक, नृत्य, देउडा तथा मन्तव्यमार्फत विषादीरहित तरकारी तथा खाद्य वस्तुको प्रयोग गर्नुपर्ने र बालविवाहलाई सामूहिक प्रयासबाट न्यूनीकरण गर्दै लैजानुपर्ने सन्देश प्रवाह गरिएको थियो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.