दार्चुला । निर्माण व्यवसायी संघ दार्चुलाले जिल्लाका निर्माण व्यवसायीलाई जोखिम बिमा कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
संघले नेपाल निर्माण व्यवसायी महासंघबाट प्राप्त पत्रअनुसार यस वर्षदेखि कार्यक्षेत्रमा खटिने निर्माण व्यवसायी सदस्यका लागि जोखिम बिमाको व्यवस्था गरिएको जनाएको हो ।
संघले जिल्लाका सम्पूर्ण निर्माण व्यवसायीलाई उक्त बिमा अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरिएको निर्माण व्यवसायीसंघ दार्चुलाका महासचिव चरन सिह बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार बिमा योजनाअन्तर्गत दुर्घटना उपचारका लागि १ लाख रुपैयाँ, स्वास्थ्य उपचारका लागि ५० हजार रुपैयाँ, प्राणघातक रोग उपचारका लागि ५० हजार रुपैयाँ र निधन भएमा १० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराइने बताए । त्यस्तै, अंगभंग भएमा दुर्घटनाको प्रकृति हेरी सोहीअनुसार क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।
जोखिम बिमामा सहभागी हुन इच्छुक निर्माण व्यवसायीले आगामी असोज २६ गतेभित्र संघको सचिवालयमा आफ्नो फर्म/कम्पनीको नाम दर्ता गराउन संघले आग्रह गरेको छ ।
बिमा कार्यक्रममा सहभागी हुन नागरिकताको प्रतिलिपि, जिल्ला संघको सदस्य भएको प्रमाण र इजाजतपत्रको प्रतिलिपि आवश्यक पर्ने संघले जनाएको छ ।
निर्माण क्षेत्रमा कार्यरत व्यवसायी तथा कामदारको जोखिम न्यूनीकरण र विपद्का समयमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले बिमा कार्यक्रम अघि बढाइएको संघको भनाइ छ।

