काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका दार्चुलाका चार जनाको अवस्था पत्ता लगाउन उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद ठगुन्नाले भदौ १० गते आएको बाढीमा परी दार्चुलाका चार जना सम्पर्कविहीन भएको जानकारी गराउँदै उनीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका हुन् ।
उनका अनुसार दार्चुलाको लेकम गाउँपालिका–४ निवासी नेपाली सेनाका सहसेनानी देवसिंह धामी, दुहु गाउँपालिका–५ निवासी नेपाली सेनाका नायक विकासबहादुर ठकुरी, शैल्यशिखर नगरपालिका–८ निवासी भन्सार कार्यालयमा कार्यरत नरेशदत्त जोशी र अपर त्रिशूली–१ मा कार्यरत जयनन्द जोशीको अवस्था अझै अज्ञात छ ।
‘बेपत्ताहरूको अवस्था पत्ता लगाउन, उद्धार कार्यलाई तीव्रता दिन तथा उक्त घटनाका पीडितहरूको राहत, पुनःस्थापना र खोजी कार्य द्रुत गतिमा सञ्चालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु,’ सांसद ठगुन्नाले भने ।
सांसद ठगुन्नाले दार्चुलाको अपीहिमाल गाउँपालिका–१ भट्टाडमा पहिरो जाँदा दर्जनौँ स्थानीय बासिन्दा विस्थापित भएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । उनले विस्थापित परिवारको पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरे ।
