दार्चुला । नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्नाले दार्चुलाको चमेलिया र महाकाली नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन्।
प्रत्येक वर्ष मनसुनको समयमा दार्चुलाका अपिहिमाल, मार्मा र लेकम गाउँपालिका तथा महाकाली नदी तटीय क्षेत्रका नागरिक जोखिम मोलेर बस्नु परेको उनले बताए। सांसद ठगुन्नाले चमेलिया नदी किनारमा रहेको दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा अविलम्ब पक्की तटबन्ध निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।
गोकुलेश्वरमा तटबन्ध निर्माणका लागि विगतमा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहितको बहुवर्षीय फाइल अर्थ मन्त्रालयमा अड्किएको जानकारी दिँदै उक्त ठेक्का तत्काल स्वीकृत गर्न उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए।
संसदमा बोल्दै सांसद ठगुन्नाले भने, ‘चमेलिया नदीको तटीय क्षेत्र अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका र महाकाली नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न सरकारसँग माग गर्दछु।’ गोकुलेश्वर बजारको सुरक्षाबारे बोल्दै उनले थपे, ‘चमेलिया नदी किनारमा रहेको दार्चुला जिल्लाकै दोस्रो ठूलो बजार गोकुलेश्वरमा अविलम्ब पक्की तटबन्ध निर्माण गर्न माग गर्दछु, विगतमा डीपीआर भई बहुवर्षीय फाइल अर्थ मन्त्रालयमा अड्किएको छ, उक्त ठेक्का तत्काल स्वीकृत गर्न समेत अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गर्दछु।’
रसुवाको भोटेकोशीमा आएको बाढीमा परी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको उद्धार प्रक्रियालाई थप प्रभावकारी बनाउन समेत उनले सरकारको ध्यानाकर्षण गराए।
