दार्चुला । रसुवाको भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि दार्चुलाको नौगाड गाउँपालिकाले २२ लाख ७८ हजार २५९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ।
गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोष, जनप्रतिनिधिको सेवा–सुविधा तथा कर्मचारी र शिक्षकको पारिश्रमिकबाट रकम कट्टा गरी उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर सिह धामीले बताए । गाउँपालिका अध्यक्षको सेवा–सुविधाबाट २० हजार, उपाध्यक्षको सेवा–सुविधाबाट १२ हजार, वडा अध्यक्षहरूको सेवा–सुविधाबाट ३६ हजार, कार्यपालिका सदस्यहरूको सेवा–सुविधाबाट १८ हजार र गाउँसभा सदस्यहरूको सेवा–सुविधाबाट ३० हजार रुपैयाँ सहयोग गरिएको उनले बताए ।
त्यसैगरी गाउँपालिकामा कार्यरत अधिकृत तथा सहायकस्तरका कर्मचारी, कार्यालय सहयोगी, शिक्षक, करार कर्मचारी तथा विद्यालयका कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिकबाट समेत निश्चित रकम कट्टा गरी सहयोग गरिने गाउँपालिकाले जनाएको छ।
नौगाड गाउँपालिकाले बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न लागेको हो।

