दार्चुला । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दार्चुलाको लेकम गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ।
गाउँ कार्यपालिकाको भदौ २५ गते बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख ४२ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको हो ।
गाउँपालिकाले पालिका अध्यक्षको मासिक सेवा सुविधाबाट २० हजार रुपैयाँ, उपाध्यक्षको सेवा सुविधाबाट १२ हजार रुपैयाँ, वडा अध्यक्षहरूको सेवा सुविधाबाट ६ हजार रुपैयाँ, कार्यपालिका सदस्यहरूको सेवा सुविधाबाट ३ हजार रुपैयाँ र गाउँसभा सदस्यहरूको सेवा सुविधाबाट १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ।
साथै, राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरूको तलब भत्ताबाट नेपाल सरकारले तोकेबमोजिमको रकमसमेत सहयोग गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै गाउँपालिकाभित्रका नागरिक, कर्मचारी, बुद्धिजीवी, व्यापारी, संघसंस्था तथा सरोकारवालालाई विपद्को समयमा सहयोग गर्न अपिल गरेको छ।
भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। नेपाल सरकारले समेत बाढी प्रभावितको राहत, उद्धार तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको छ।

