धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ अन्तिम साता बजेट ल्याउने तयारी गरेको छ ।
शनिबार (भदौ २७) बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकबाट बजेटको पुनरवलोकन, नवगठित सरकारले प्राथमिकतामा राखेका योजनासहित परिमार्जन गरेर पुनर्लेखन गर्न आर्थिक मामिला मन्त्रालयलाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता प्रकाश रावलले बताए । मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको नवगठित सरकारले भदौ मसान्तभित्र बजेट ल्याउने तयारी गरेको हो ।
सुदूरपश्चिममा लामो समयदेखि बजेट शून्यताको अवस्था छ । बजेटमा समझदारी जुटाउन शुक्रबार (भदौ २६) साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बसेको थियो ।
प्रदेशको बजेट निर्माण प्रक्रिया शीघ्र अघि बढाउने विषयमा सर्वदलीय बैठकमा सहमति जुटेको थियो । बैठकमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।
प्रदेशमा बजेट शून्यताको अवस्था लामो समयसम्म रहँदा सरकारका नियमित कामकाज, सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिमा प्रत्यक्ष असर परेको छ ।
