दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा निर्माण भइरहेको दार्चुलाको खलङ्गा–खार–देथला–पारीबगड सडक आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । बजेट अभाव, बाढीपहिरो तथा प्राकृतिक विपत्तिका कारण सडक निर्माणले अपेक्षित गति लिन नसकेको हो ।
सदरमुकाम खलङ्गाको महाकाली नगरपालिका–४ बङ्गाबगडदेखि नौगाड गाउँपालिकाको दल्लेख हुँदै मार्मा र अपिहिमाल गाउँपालिकालाई जोड्ने ९५ किलोमिटर लामो सडकलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा प्रदेश गौरवको सडक घोषणा गरी निर्माण सुरु गरेको थियो ।
निर्माणाधीन सडक बर्खायाममा हिलाम्मे र चिप्लो हुने गरेका कारण स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । लगातारको वर्षाले सडकमा खाल्टाखुल्टी र हिलो बढेपछि यात्रु तथा यातायात व्यवसायीले सास्ती भोगिरहेका छन् ।
सडकको खलङ्गादेखि दल्लेखसम्मको १६ किलोमिटरमध्ये अधिकांश क्षेत्रमा बर्खाका बेला सवारीसाधन सञ्चालन गर्न कठिन हुने यातायात व्यवसायी एवं स्थानीय हरकसिंह नगालले बताए । सडकमा जमेको हिलो र खाल्टाखुल्टीका कारण यात्रु तथा व्यवसायीलाई समस्या भइरहेको उनको भनाइ छ ।
९५ किलोमिटर सडकको ट्र्याक पूर्ण रूपमा खुलिसकेको भए पनि २०७९ साल भदौमा गराकुखोलामा आएको भीषण बाढीले खलङ्गाभन्दा माथिको करिब सात किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्याएको थियो । अहिले खलङ्गादेखि नौगाड गाउँपालिका–२ दल्लेखसम्मको १६ किलोमिटर सडकखण्डमा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय, बैतडीका अधिकृत इन्जिनियर जितेन्द्रसिंह धामीले जानकारी दिए ।
सडकको थप निर्माणका लागि गत असार १ गते तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले सात करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, सरकार परिवर्तनसँगै उक्त बजेट कार्यान्वयन हुन नसकेको जनाइएको छ । नयाँ सरकारले नयाँ बजेट ल्याउने तयारी गरिरहेकाले स्थानीयले प्रदेश गौरवको आयोजना पूरा हुने गरी पर्याप्त बजेट विनियोजन गर्न माग गरेका छन् ।
सडकको अवस्था जीर्ण हुँदा यात्रु लामो समय बाटोमै अलपत्र पर्ने, आकस्मिक बिरामीलाई अस्पताल पुर्याउन तथा कृषकलाई कृषि उपज बजारसम्म लैजान समस्या हुने गरेको छ । हाल ९५ किलोमिटरमध्ये करिब आठ किलोमिटर सडकखण्डमा १९ करोड रुपैयाँको लागतमा कालोपत्रे गर्नुपूर्वका काम भइरहेको इन्जिनियर धामीले बताए ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत तीन वर्षभित्र सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो । तर, निर्धारित समय बितिसक्दा पनि सडकको ट्र्याकसमेत अपेक्षित रूपमा स्तरोन्नति हुन सकेको छैन ।
यसैबीच, राष्ट्रिय गौरवको आयोजना महाकाली कोरिडोरअन्तर्गत ट्र्याक खोलिएको २८८.५ किलोमिटर क्षेत्रमा सवारीसाधन सञ्चालनमा छन् । बर्खाका बेला केही क्षेत्रमा पहिरोको समस्या रहे पनि अधिकांश क्षेत्रमा सहज रूपमा गाडी गुड्न सक्ने अवस्था रहेको महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका इन्जिनियर एवं सूचना अधिकारी दिनेश रैखोलाले जानकारी दिए ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको चीनसँगको नाका तिङ्करभञ्ज्याङसम्म महाकाली कोरिडोरको कुल लम्बाइ ४१३ किलोमिटर छ । निर्माण सुरु भएको १८ वर्षमा सरकारले कोरिडोरमा करिब चार अर्ब रुपैयाँ खर्च गरेको छ भने २८८.५ किलोमिटर ट्र्याक खोलिएको रैखोलाले बताए ।
कोरिडोरअन्तर्गत डडेलधुरा क्षेत्रमा हालसम्म पाँच किलोमिटर सडक कालोपत्रे गरिएको छ । कुल ४१३ किलोमिटरमध्ये ३३४ किलोमिटर सडक महाकाली कोरिडोर सडक निर्माण योजनाले निर्माण गरिरहेको छ भने दार्चुलाको ७९ किलोमिटर सडकको निर्माण विगत छ वर्षदेखि नेपाली सेनाले गर्दै आएको छ ।
