दार्चुला। नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाका पहिरो तथा जमिन भासिएका जोखिमयुक्त बस्तीका नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै दार्चुलाबाट निर्वाचित सांसद ठगुन्नाले अविरल वर्षाका कारण व्याँस गाउँपालिका–४ मडगाउँ बस्तीमाथिबाट जमिन भासिँदा तीन दर्जन घर क्षतिग्रस्त भएको र स्थानीय बासिन्दा विस्थापित भएको जानकारी गराए ।
उनले मडगाउँको पूरै बस्ती जोखिममा रहेकाले विस्थापित नागरिकलाई तत्काल राहत तथा सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत तत्काल विज्ञ टोली पठाएर आवश्यक व्यवस्थापन गर्नुपर्ने उनको माग छ ।
त्यसैगरी, नौगाड गाउँपालिका–४ सिप्टी गैरा बस्तीमाथिबाट भदौ २८ गते पहिरो आएपछि उक्त बस्तीसमेत जोखिममा रहेको भन्दै ठगुन्नाले बस्ती संरक्षणका लागि आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
सांसद ठगुन्नाले विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिसँग पर्याप्त बजेट नहुँदा समस्या भइरहेको बताए । पालिकाहरूले समेत आफ्नै स्रोतसाधनबाट प्रभावकारी रूपमा राहत तथा उद्धार गर्न नसकिरहेको उनको भनाइ छ ।
उनले तत्कालीन राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि गृह मन्त्रालय र केन्द्रीय दैवी प्रकोप उद्धार समितिमार्फत जिल्ला दैवी प्रकोप उद्धार समितिलाई थप बजेट उपलब्ध गराउन माग गरे ।
जिल्ला–जिल्लामा पर्याप्त बजेट उपलब्ध भएमा मात्रै विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन सकिने भन्दै उनले गृह मन्त्रालयको विशेष ध्यानाकर्षण गराए ।
