सम्पादकीयः आवाजको निरन्तरता र समाजको ऐना– लिपुलेक
रेडियो प्रसारणदेखि ‘मालिकार्जुन खबर’ अनलाइन पोर्टलसम्म सञ्चालन
दार्चुला। समय परिवर्तनशील छ। सञ्चारका प्रविधिहरू दिनप्रतिदिन आधुनिक र डिजिटल बन्दै गइरहेका छन्। तर, तीव्र गतिमा बदलिँदो प्रविधिको यस युगमा पनि एउटा यस्तो माध्यम छ, जसले आफ्नो मौलिकता, विश्वसनीयता र जनसाधारणसँगको सामीप्यतालाई कहिल्यै गुम्न दिएको छैन—त्यो माध्यम हो, रेडियो।
आज हामी हाम्रो प्रिय रेडियो लिपुलेकको वार्षिकोत्सव मनाइरहेका छौँ। दार्चुलाजस्तो दुर्गम भूगोलमा रहेर पनि हामीले पाँच वर्षको यात्रा पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेका छौँ। ‘समृद्ध नेपाल निर्माणका लागि सञ्चारमा हाम्रो आवाज’ भन्ने मूल नाराका साथ रेडियो लिपुलेकले आफ्नो प्रसारण यात्राको पाँच वर्ष पूरा गरेको हो।
समयको गतिसँगै हामीले मा ल्याएका छौँ। रेडियो र डिजिटल माध्यमलाई सँगसँगै अघि बढाउँदै स्थानीयदेखि राष्ट्रियस्तरसम्मका सूचना, समाचार र जनसरोकारका विषयलाई श्रोता तथा पाठकमाझ पुर्याउने हाम्रो प्रयास निरन्तर जारी छ।
२०७८ साल असोज १ गतेदेखि शैल्यशिखर नगरपालिका–६, पनेबाँजबाट १०० वाट क्षमतामा ९९।६ मेगाहर्जमा प्रसारण सुरु गरेको रेडियो लिपुलेकले सत्यतथ्य समाचार, सूचना, विज्ञापन, गीत–संगीत तथा विभिन्न जनमुखी कार्यक्रम नियमित रूपमा प्रसारण गर्दै आएको छ।
अद्वितीय राष्ट्रिय विकास संगठनद्वारा सञ्चालित रेडियो लिपुलेक हाल दैनिक १८ घण्टा प्रसारण भइरहेको छ। यसको प्रसारण दार्चुला, बैतडी, डडेल्धुरा तथा बझाङका केही ग्रामीण क्षेत्र हुँदै भारतको उत्तराखण्डस्थित पिथौरागढसम्म सुन्न सकिन्छ। यसले हाम्रो आवाजको पहुँच केवल भूगोलमा सीमित नरहेको अनुभूति गराएको छ।
यस सुखद अवसरमा सम्पूर्ण आदरणीय श्रोता, विज्ञापनदाता, शुभचिन्तक तथा अहोरात्र खटिनुहुने सञ्चारकर्मीप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। पाँच वर्षको यो यात्रा हाम्रो एक्लो प्रयासको परिणाम होइनस यसमा श्रोता, पाठक, विज्ञापनदाता, शुभचिन्तक र सञ्चारकर्मी सबैको माया, साथ, सहयोग र विश्वास जोडिएको छ।
रेडियो केवल सूचना र मनोरञ्जनको साधन मात्र होइन, यो समाजको सुख–दुःखको साथी पनि हो। गाउँका कुना–काप्चादेखि सहरका व्यस्त गल्लीसम्म, इन्टरनेटको पहुँच नपुगेका दूरदराजका बस्तीदेखि आधुनिक भान्सा र यात्रारत सवारीसाधनसम्म रेडियोको आवाज गुञ्जिरहेको हुन्छ। प्राकृतिक विपत्ति होस् वा राजनीतिक परिवर्तन, महामारीको समय होस् वा उत्सवको माहोल—रेडियोले सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्दै समाजलाई जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
स्थानीय भाषा, संस्कृति, परम्परा र स्थानीय आवाजलाई समेट्दै समाजमा चेतना जगाउन रेडियोले खेलेको भूमिका महत्वपूर्ण छ। निरक्षरदेखि साक्षरसम्म सबैलाई सहज रूपमा सूचना र ज्ञानसँग जोड्न सक्ने माध्यमका रूपमा रेडियोको आफ्नै विशिष्टता छ। विज्ञापन र व्यावसायिक बजारको बदलिँदो स्वरूपका बीच पनि श्रोताहरूको अटुट विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति र ऊर्जा बनेको छ।
आजको यस विशेष अवसरमा हामी विगतका उपलब्धिहरूको समीक्षा मात्र गरिरहेका छैनौँ, आगामी दिनमा अझ परिष्कृत, सान्दर्भिक, जिम्मेवार र जनमुखी कार्यक्रम प्रस्तुत गर्ने संकल्प पनि गरिरहेका छौँ। पत्रकारिताको मूल मर्म—सत्य, तथ्य, निष्पक्षता र जनउत्तरदायित्व—लाई आत्मसात् गर्दै समाजका हरेक वर्ग र समुदायका आवाजलाई प्राथमिकताका साथ उठान गर्ने हाम्रो प्रतिबद्धता यथावत् रहनेछ।
डिजिटल युगका चुनौतीलाई आत्मसात् गर्दै रेडियोको आवाजलाई अनलाइन तथा सामाजिक सञ्जालका माध्यमबाट विश्वभर रहेका नेपालीमाझ पुर्याउने हाम्रो प्रयास अझ सशक्त बनाउँदै लैजानेछौँ। प्रविधि परिवर्तन हुन सक्छ, माध्यम परिवर्तन हुन सक्छ, तर जनताको सूचना पाउने अधिकार र सत्य बोल्ने हाम्रो दायित्व परिवर्तन हुनुहुँदैन भन्ने मान्यतामा हामी दृढ छौँ।
अन्ततः, हामीलाई यहाँसम्म ल्याउन र आगामी यात्राका लागि ऊर्जा प्रदान गर्न रचनात्मक सुझाव, माया, साथ र विश्वास दिनुहुने सम्पूर्ण श्रोता तथा पाठकप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
समाजको सच्चा ऐना बनेर, आवाजविहीनहरूको आवाज बन्ने हाम्रो यात्रा आगामी दिनमा अझ सशक्त, जिम्मेवार र प्रभावकारी रूपमा अघि बढ्नेछ।
रेडियो लिपुलेक सुन्दै र मालिकार्जुन खबर पढ्दै हामीसँग जोडिइरहनुहोस्।
धन्यवाद।
