दार्चुला । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा जिल्ला प्रशासन कार्यालय, दार्चुलाले प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।
प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सार्वजनिक सूचनाअनुसार भोली शनिबार असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रमअन्तर्गत बिहान ८ बजे जिल्ला प्रशासन कार्यालय, दार्चुलाको प्राङ्गणबाट प्रभातफेरी सुरु हुनेछ। प्रभातफेरी खलङ्गा बजार परिक्रमा गर्दै अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय अगाडिको वीरेन्द्र वनस्थित खुला स्थानमा पुगेर तोकिएबमोजिमका कार्यक्रम सञ्चालन गरी समापन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रभातफेरी तथा कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी, कार्यालय प्रमुखसहित सम्पूर्ण सरकारी कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, शिक्षक, गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण नागरिकलाई सहभागी हुन प्रशासनले आग्रह गरेको छ।

