दार्चुला । दार्चुला । नेपालीहरूको महान् पर्व गौरा पर्वको अवसर पारेर दार्चुलाको दुहुँ र मालिकार्जुन गाउँपालिकामा बालविवाह न्यूनीकरण, खाद्य सुरक्षा तथा लागूऔषध दुव्र्यसनविरुद्ध बृहत् जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज (सीआरडीएस) नेपाल, दार्चुलाको सहजीकरणमा सञ्चालित ‘एकीकृत सामुदायिक विकास परियोजना’ र ‘अवसर परियोजना’ अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
स्थानीय वडा कार्यालयहरूको समन्वयमा आयोजित कार्यक्रममा दुहुँ र मालिकार्जुनका विभिन्न माध्यमिक विद्यालयका बाल क्लब, आमा समूह तथा कृषि समूहका सदस्यहरूले सडक नाटक, सुरक्षित खाद्य प्रदर्शनी तथा सन्देशमूलक देउडा प्रस्तुत गरेका थिए।
बालबालिकाहरूले सडक नाटकमार्फत बालविवाहका कारण, त्यसले बालबालिका तथा परिवारको जीवनमा पार्ने असर, समाजमा घटेका घटनाका साथै लागूऔषध दुव्र्यसनका जोखिमलाई प्रस्तुत गरेका थिए।
यस्तै, स्थानीय आमा तथा कृषि समूहका सदस्यहरूले देउडा गीतमार्फत बालविवाह न्यूनीकरण, सुरक्षित खानपान तथा खाद्य सुरक्षासम्बन्धी सन्देश प्रवाह गरेका थिए।
भदौ १९ गते दुहुँ गाउँपालिका–५ पाँसु र वडा नं. ४ पोक्सेमा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिए ।
त्यसैगरी भदौ २० गते दुहुँ गाउँपालिका–३ बोहरीगाउँ, वडा नं. ४ दौला जोशीगाउँ र वडा नं. १ विणमा वडा अध्यक्ष, वडा सदस्य तथा पालिका महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरूको उपस्थितिमा सडक नाटक र देउडा प्रदर्शनी गरिएको उनले बताए ।
यस्तै भदौ २५ गते मालिकार्जुन गाउँपालिकाको वडा नं ३ मडमा वडा अध्यक्ष मदन सिंह धामीको अध्यक्षतामा बालविवाह न्यूनीकरण, सुरक्षित खाद्य प्रदर्शनी तथा लागूऔषध दुर्व्यसन विरुद्ध सडक नाटक र देउडा कार्यक्रम सम्पन्न गरिएको बताइएको छ ।
यसप्रकारका अभियानले स्थानीय समुदायमा बालविवाह न्यूनीकरण, लागूऔषध दुव्र्यसनबाट बच्न तथा सुरक्षित र स्वास्थ्यवर्धक खानपान अपनाउन सकारात्मक योगदान पुर्याउने आयोजकको विश्वास छ।
