काठमाडौं कांग्रेस १५औं महाधिवेशनमा होमिएको छ । कांग्रेसले शनिबारदेखि वडा अधिवेशन गर्दै छ । शनिबार र आइतबार देशभर वडामा अधिवेशन गर्ने तालिका छ । वडा अधिवेशनले वडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ ।
क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचनाअनुसार वडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ ।
४ सय ६० गाउँपालिकामा ३ हजार २ सय १५, २ सय ७६ नगरपालिकामा ३ हजार १ सय २०, ११ उपमहानगरपालिकाका २ सय ३४ र ६ महानगरपालिकाका १ सय ७४ गरी देशभर ६ हजार ७ सय ४३ वडा छन् । पार्टीको विधानअनुसार वडा कार्यसमितिमा ८५ हजार ४ सय ३४ जना निर्वाचन हुनेछन् । यसमा ३३ हजार ७ सय १५ पदाधिकारी र ५१ हजार ७ सय १९ सदस्य निर्वाचित हुनेछन् ।
गाउँपालिकाका वडामा पाँच पदाधिकारी र सात सदस्य गरी प्रतिवडा १२ जनाका दरले ३८ हजार ५ सय ८० जना निर्वाचित हुनेछन् । नगरपालिकाका ३ हजार १ सय २० वडामा पाँच पदाधिकारी र आठ सदस्य गरी प्रतिवडा १३ जनाका दरले ४० हजार ५ सय ६० जना निर्वाचित हुनेछन् । त्यस्तै, २ सय ३४ उपमहानगरपालिका वडामा पाँच पदाधिकारी र १० सदस्य गरी ३ हजार ५ सय १० जना तथा १ सय ७४ महानगरपालिका वडामा पाँच पदाधिकारी र ११ सदस्य गरी २ हजार ७ सय ८४ जना निर्वाचित हुनेछन् ।
वडा अधिवेशनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिको संख्या भने पार्टीको क्रियाशील सदस्य संख्याका आधारमा फरक हुन्छ । एउटा वडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेको बताए । रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नं १ बाहेक अन्य ठाउँमा वडा अधिवेशनको तयारी भइरहेको उनले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा भने स्थानीय कार्यकर्तासँगको समन्वयमा केही दिन ढिला हुन सक्ने उनले बताए ।
अधिवेशनमा असहयोग गरेको भन्दै कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा रहेका डोटी, कैलाली, कञ्चनपुर र बागलुङका जिल्ला सभापतिहरूको ठाउँमा अधिवेशन गराउने जिम्मेवारी अर्कै व्यक्तिलाई तोकेको छ । ‘सभापति सम्बन्धित व्यक्ति नै हुन्छन्, तर अधिवेशनका लागि अर्को व्यक्तिलाई जिम्मेवारी तोकिएको छ,’ चालिसेले भने ।
वडा अधिवेशनका क्रममा सम्बन्धित वडा सभापतिले पनि असहयोग गरे जिल्ला सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्ने अधिकार केन्द्रले दिएको उनले जानकारी दिए ।
