दार्चुलाको व्यास गाउँपालिका–४ मडगाउँस्थित खर्कबस्ती विस्थापित, १० वटा घर भत्किए

१८ वटा घर पूर्णरूपमा चर्किए

दार्चुलाको व्यास गाउँपालिका–४ मडगाउँस्थित खर्कबस्ती विस्थापित भएको छ । लगातार जमिन धसिएर घरहरू चर्किएपछि खर्कबस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिए । महाकाली नदी किनार नजिकै रहेको उक्त बस्तीका अधिकांश घरमा मानिस बस्न सक्ने अवस्था नरहेपछि तत्कालका लागि पूरै बस्तीलाई सुरक्षित स्थानमा सारिएको बताए ।
अहिले पनि जमिन धसिने क्रम नरोकिएको उपाध्यक्ष कुँवरले बताए । उनका अनुसार खर्कबस्तीका १८ वटा घर पूर्णरूपमा चर्किएका छन् भने १० वटा घर भत्किएका छन् । बस्तीका अन्य घरसमेत चर्किएको अवस्थामा रहेको उनले बताए ।

बस्तीका मानिसलाई सुरक्षित स्थानमा राखेर तत्कालका लागि गाउँपालिकाले टेन्टको व्यवस्था गरेको छ । दुई–तीन वटा घरबाट अन्नपातसमेत निकाल्न नसकिएको अवस्थामा रहेकाले प्रभावित परिवारमा खाद्यान्नको समस्या सिर्जना भएको छ ।

बस्तीका घरमा पूर्णरूपमा क्षति भई मानिस बस्न सक्ने अवस्था नरहेपछि पुनर्निर्माण, राहत तथा बस्ती व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जानकारी गराइसकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो ।

खर्कबस्तीको जमिन धसिएर पूर्णरूपमा असुरक्षित बनेपछि गाउँपालिकाले क्षतिको विवरण तथा प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गरिएको बताइएको छ ।

लगातारको वर्षाका कारण जमिन धसिँदै गएपछि बस्ती जोखिममा परेसँगै स्थानीय त्रसित बनेका छन् । बस्ती जोखिममा परेकाले तत्काल स्थलगत निरीक्षण गरी जोखिमको मूल्याङ्कन गर्नुपर्ने र प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने व्यास गाउँपालिका–४ का वडाध्यक्ष झुनसिंह विष्टले बताए ।

मडगाउँस्थित खर्कबस्ती जोखिममा परेपछि दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले बस्ती स्थानान्तरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.