दार्चुला। दार्चुलाको अपि हिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना अगाडि बढाइएको छ।
सोही योजनाअनुसार यस वर्ष १० हजार पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन उत्सव आयोजना हुन लागेको छ। अपि हिमालको आधार शिविरमै आयोजना हुने उत्सवले पर्यटन प्रवद्र्धन र प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार कात्तिक १७ देखि १९ गतेसम्म अपिहिमाल गाउँपालिका–१ स्थित आधार शिविरको पिलकन्दमा उत्सव आयोजना गरिनेछ भने उत्सवसँग सम्बन्धित अन्य गतिविधि गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत सञ्चालन गरिनेछन्। अध्यक्ष बोहराका अनुसार उत्सवलाई प्रदेशस्तरीय बृहत् कार्यक्रमका रूपमा आयोजना गर्न लागिएको हो। ’अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय केन्द्र बनाउने लक्ष्यसहित तीन दिनसम्म विभिन्न रचनात्मक तथा आकर्षक कार्यक्रम सञ्चालन गरिनेछन्,झ उनले भने।
उत्सवको पहिलो दिन प्रदेश तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त साहित्यकार, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम र साहित्यिक गोष्ठी आयोजना गरिनेछ। दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। ’यसको मुख्य आकर्षण अपि हिमालको आधार शिविरमै आयोजना गरिने क्रिकेट खेल रहनेछ,झ उनले भने, ’यसले उच्च हिमाली क्षेत्रमा खेलकुद प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास छ।झ
अपिहिमाल क्षेत्रलाई ‘वेलनेस टुरिजम’को केन्द्रका रूपमा विकास गर्न तेस्रो दिन योग तथा ध्यान शिविर सञ्चालन गरिनेछ। उत्सवको अन्तिम दिन जलवायु परिवर्तनमा केन्द्रित विशेष ‘जलवायु संवाद’ आयोजना गरिनेछ। आगामी नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुन लागेको संवादमार्फत जलवायु परिवर्तनले नेपालको उच्च हिमाली क्षेत्रमा पारेको गम्भीर प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइनेछ।
अध्यक्ष बोहराका अनुसार उत्सवको मुख्य उद्देश्य अपि हिमाल क्षेत्रलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु, स्थानीयवासीको जीविकोपार्जनमा सुधार ल्याउनु, स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नु र जलवायु अनुकूलनका कार्यक्रमलाई प्रवद्र्धन गर्नु हो। पछिल्लो समय अपि हिमाल क्षेत्रमा वार्षिक पाँच हजारको हाराहारीमा पर्यटक पुग्ने गरेका छन्। यसवर्ष पर्यटकको संख्या १० हजार पुर्याउने लक्ष्य गाउँपालिकाले लिएको छ। गाउँपालिकाले प्रदेशस्तरीय पर्यटन उत्सवमा सहभागी भएर पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउन सबैलाई आह्वान गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर बिष्टले उत्सवमा सहभागी हुन सबैलाई आमन्त्रण गरेका छन्।
सुदूरपश्चिमको सबैभन्दा अग्लो सात हजार १३२ मिटर उचाइको अपि हिमाल पर्यटनका दृष्टिकोणले निकै सम्भावना बोकेको क्षेत्र हो। तर, अपि हिमालको आधार शिविरसम्म हालसम्म न्यून संख्यामा मात्रै पर्यटक पुग्दै आएका छन्।दिनेश खबर
