दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा आयोजना हुने अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री बालेन शाह सहभागी नहुने भएका छन् ।
उत्सवमा प्रधानमन्त्री शाहलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा पठाइएको भए पनि संघीय सरकारको प्रतिनिधित्व गर्दै शिक्षामन्त्री सस्मित पोखरेल सहभागी हुने बताइएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलगायत विशिष्ट अतिथिहरू पनि उत्सवमा सहभागी हुने भएका छन् ।
अपिहिमाल गाउँपालिकाले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमार्फत उत्सवमा सहभागी हुने अतिथिहरू तथा तयारीका विषयमा जानकारी गराएको हो ।
गाउँपालिकाको आयोजनामा आगामी कात्तिक १७ देखि १९ गतेसम्म अपि बेस क्याम्प क्षेत्रमा अपिहिमाल पर्यटन उत्सव भव्य रूपमा आयोजना हुँदैछ । उत्सवको तयारी लगभग पूरा भइसकेको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए ।
अपिहिमाल क्षेत्रको पर्यटन प्रवद्र्धन, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार र पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने उत्सवले अपिहिमाल क्षेत्रको पर्यटन विकासमा योगदान पुर्याउने र यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
