दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–९ साकारमा सञ्चालित दोस्रो संस्करणको साकार टी–१० कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा मालिकार्जुन युवा क्लब, मालिकार्जुन–६ दार्चुला प्रथम भएको छ भने सेभेन स्टार युवा क्लब, मालिकार्जुन–४ हुनैनाथ द्वितीय भएको छ।
जनचेतनशील युवा क्लबको आयोजनामा साकार क्रिकेट ग्राउण्डमा सञ्चालन भएको प्रतियोगिताको समापन समारोह महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरको प्रमुख आतिथ्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य जगत सिंह धामीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
प्रतियोगिताको विजेता मालिकार्जुन युवा क्लबले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ। उपविजेता सेभेन स्टार युवा क्लबले ३३ हजार ३३३ रुपैयाँसहित पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार ५५५ रुपैयाँ, उदयीमान खेलाडीलाई २ हजार ५५५ रुपैयाँ र फेयर प्ले टोलीलाई १ हजार ५५५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो।
क्रिकेट खेलको विकास, स्थानीय प्रतिभाको पहिचान तथा खेलाडीबीच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। पहिलो संस्करणपछि दोस्रो संस्करणका रूपमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कात्तिक ६ गते गरिएको थियो।
