चाडपर्वमा जुवातास, पटका र मदिराजन्य गतिविधि नगर्न दार्चुला प्रशासनको आग्रह

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपालीहरूको महान् पर्व तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्लावासीलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा चाडपर्व मनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलद्वारा हस्ताक्षरित सूचनामार्फत प्रशासनले चाडपर्वका अवसरमा सामाजिक सद्भाव कायम राख्दै जुवातास, पटका, अवाञ्छित गतिविधि तथा सार्वजनिक शान्तिमा असर पर्ने कार्य नगर्न आग्रह गरेको हो।

प्रशासनले जिल्लाको समग्र शान्ति सुरक्षालाई ध्यानमा राख्दै देउसी–भैलो, सांस्कृतिक कार्यक्रम तथा स्थानीय जात्रा–मेलाहरू मर्यादित ढंगले सञ्चालन गर्न अनुरोध गरेको छ। यस्ता कार्यक्रम नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै अनुशासित रूपमा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ।

त्यस्तै, निजी आवास, व्यापारिक प्रतिष्ठान तथा कार्यालयमा देउसी–भैलो खेल्न जाँदा घरधनी, सञ्चालक वा जिम्मेवार पदाधिकारीको अनुमति लिएर मात्र प्रवेश गर्न र जबर्जस्ती रकम माग्ने वा दबाब दिने कार्य नगर्न प्रशासनले सचेत गराएको छ।

अभिभावकलाई देउसी–भैलोमा सहभागी हुने बालबालिकाको निगरानी गर्न तथा उनीहरूलाई असुरक्षित स्थानमा जान नदिन पनि आग्रह गरिएको छ। बालबालिकालाई जोखिमपूर्ण गतिविधिमा संलग्न गराउने वा सुरक्षामा लापरबाही गर्ने कार्य नगर्न सूचनामा भनिएको छ।

यसैगरी, भुइँचम्पा, पटका तथा आतिसबाजीजस्ता विस्फोटक पदार्थको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न प्रशासनले निर्देशन दिएको छ। चाडपर्वका नाममा जुवातास खेल्ने, सट्टेबाजी गर्ने, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने गतिविधि नगर्न पनि आग्रह गरिएको छ।

प्रशासनले अखाद्य वस्तु मिसाइएका तथा गुणस्तरहीन मिठाईलगायतका उपभोग्य वस्तुको बिक्री वितरण नगर्न, बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी नगर्न र उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई सचेत गराएको छ।

चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनले तोकिएको भन्दा बढी भाडा नलिन, यात्रुको चापअनुसार सुरक्षित यात्रा व्यवस्था मिलाउन तथा क्षमताभन्दा बढी यात्रु नराख्न पनि प्रशासनले आग्रह गरेको छ।

त्यस्तै, स्थानीय तहमा आयोजना हुने दिवाकालीन तथा रात्रिकालीन जात्रा र मेलाको मिति तथा समयबारे प्रशासन र नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आयोजक तथा नागरिकलाई अनुरोध गरिएको छ।

सूचनामा उल्लेखित निर्देशन कार्यान्वयनका लागि जिल्लाका सबै स्थानीय तहलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गर्दै उल्लङ्घन गरी कानुनविपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

Leave A Reply

Your email address will not be published.