दार्चुला । नेपाल–भारत सीमा क्षेत्रमा सदियौँदेखि लाग्दै आएको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको जोलजिवी मेलाको तयारी तीव्र पारिएको छ । भारतको पिथौरागढस्थित जौलजिवी र नेपालको दार्चुलास्थित मालिकार्जुन गाउँपालिका–७ जोलजिवीमा लाग्ने मेलाको तयारी दुवैतर्फ भइरहेको छ ।
भारततर्फ प्रत्येक वर्ष नोभेम्बर १४ देखि सुरु हुने मेला नेपालतर्फ भने मङ्सिर १ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुने गर्दछ । भारतको उत्तराखण्डस्थित जोलजिवी मेलाको शनिबार मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्घाटन गरेका छन् ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीका अनुसार यस वर्ष नेपालको जोलजिवीमा एक पाइलो मल्टिमिडियाको संयोजन, गाउँपालिकाको आयोजना तथा वडा नम्बर ७ को सहआयोजनामा मेला तथा सांस्कृतिक महोत्सव सञ्चालन हुन लागेको हो ।
शनिबार वडा नम्बर ७ मा बसेको मेला व्यवस्थापन समितिको बैठकले मंगलबार हुने महोत्सवको उद्घाटन कार्यक्रमलाई भव्य बनाउने निर्णय गरेको अध्यक्ष धामीले जानकारी दिए । मेलालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले व्यवस्थापन समितिको बैठक बसेको उनले बताए ।
महाकाली र गोरी नदीको संगमस्थलमा लाग्ने जोलजिवी मेला नेपाल र भारतबीचको ऐतिहासिक व्यापारिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा परिचित छ । ऐतिहासिक विवरणअनुसार तत्कालीन अस्कोटका राजा पुष्कर पालले जोलजिवीमा ज्वालेश्वर मन्दिर स्थापना गरी मेलाको सुरुवात गरेका थिए ।
सुरुवाती समयमा नेपाल, भारत र चीनको तिब्बत क्षेत्रका व्यापारीहरू मेलामा सहभागी हुने गरेको इतिहास छ । भारतका काशीपुर, रामनगर, मुरादाबाद र बरेलीलगायत क्षेत्रबाट समेत व्यापारीहरू मेलामा आउने गरेका थिए ।
जोलजिवी मेला व्यापारिक कारोबारसँगै स्थानीय उत्पादनको बजारीकरण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । मेलामा जुम्ला, हुम्ला र बाजुरालगायत जिल्लाबाट घोडा बिक्रीका लागि व्यापारीहरू आउने गर्छन् । विशेषगरी जुम्ली घोडाको खरिदबिक्री मेलाको प्रमुख आकर्षणमध्ये एक मानिन्छ ।
त्यस्तै, स्थानीय किसान तथा व्यापारीले घिउ, मह, निगालोबाट बनेका सामग्री र विभिन्न कृषि उत्पादन बिक्रीका लागि ल्याउने गर्छन् । जाडोयामका लागि आवश्यक कपडा, भाँडाकुँडा तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न पनि स्थानीय बासिन्दा मेलामा पुग्ने गरेका छन् ।
यस वर्षको मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा सांस्कृतिक महोत्सवसमेत आयोजना गरिने अध्यक्ष धामीले बताए । महोत्सवमा सांस्कृतिक प्रस्तुतिका साथै गाउँपालिकाभित्र उत्पादित कृषि उपज तथा स्थानीय उद्योगका सामग्रीको प्रदर्शनीसमेत गरिनेछ । यसले स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण तथा पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।