दार्चुला । मालिकार्जुन धाममा लाग्ने प्रसिद्ध जात्रालाई व्यवस्थित, सुरक्षित तथा मर्यादित बनाउन मंसिर ७ गते दिउँसोदेखि मंसिर ८ गते बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।
जात्रामा सहभागी हुने श्रद्धालु भक्तजन तथा दर्शनार्थीको आवागमन सहज बनाउन उक्त अवधिमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जात्रा व्यवस्थापन समितिले जनाएको छ।
समितिका अनुसार राजमार्गमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने छैन। एम्बुलेन्स, प्रहरी, स्वास्थ्य, सरसफाइ तथा खानेपानीका ट्याङ्करजस्ता अत्यावश्यक सेवाका सवारीसाधनलाई भने सञ्चालनको अनुमति दिइनेछ। दुईपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालनमा रोक लगाइएको छ।
हरेक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा लाग्ने प्रसिद्ध जात्रा यस वर्ष मंसिर ७ गते राति लाग्ने भएको छ। यस्तै, कात्तिक शुक्ल त्रयोदशीका दिन शिखर धुरामा पूजन जात्रा लाग्ने धार्मिक परम्परा रहेको छ।
मालिकार्जुन धाममा लाग्ने जात्रामा नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने गर्दछन्।