मालिकार्जुन जात्रालाई व्यवस्थित र सुरक्षित बनाउने विशेष तयारी

दार्चुला । दार्चुलाको प्रसिद्ध धार्मिकस्थल मालिकाजुर्न धाममा लाग्ने ऐतिहासिक जात्रालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला निकायले तयारी तीव्र पारेका छन्।

मंसिर ६ गते शिखर पूजन (दिवाकालीन) र मंसिर ७ गते मालिकाजुर्न धाममा लाग्ने रात्रिकालीन जात्रालाई लक्षित गर्दै शान्ति सुरक्षा, यातायात व्यवस्थापन, स्वास्थ्य सेवा, खानेपानी, विद्युत्, सरसफाइ तथा भक्तजनको आवास व्यवस्थापनलगायत विषयमा आवश्यक निर्णय गरिएको हो।

जात्रालाई व्यवस्थित बनाउन महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाले सुरक्षा तथा यातायात व्यवस्थापनको जिम्मेवारी लिने भएका छन्। मालिकार्जुन गाउँपालिकाले आवश्यकताअनुसार एम्बुलेन्सको व्यवस्था गर्ने तथा दुवै नगरपालिकाले पर्याप्त संख्यामा स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ। त्यस्तै, जिल्ला अस्पताल दार्चुला र मालिकार्जुन गाउँपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराउन हेल्थ डेस्क सञ्चालन गर्नेछन्।

सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जनपद प्रहरीबाट आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी व्रत राज पौडेलले जानकारी दिनुभयो।

जात्राको समयमा शान्ति सुरक्षा कायम राख्न मंसिर ४ गते बिहान ६ बजेदेखि मंसिर ८ गते बिहान १२ बजेसम्म मालिकार्जुन गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५ र ८, शैल्यशिखर नगरपालिकाका वडा नं. ५, ६ र ७, महाकाली नगरपालिकाको वडा नं. १ तथा लेकम गाउँपालिकाका वडा नं. ४, ५ र ६ मा मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरिएको छ।

त्यसैगरी, मंसिर ४ गते दिउँसो १२ बजेदेखि मंसिर ८ गते दिउँसो १२ बजेसम्म तोकिएका क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन पूर्ण रूपमा निषेध गरिने जनाइएको छ।

यातायात व्यवस्थापनतर्फ मंसिर ६ गते दिउँसो ३ बजेदेखि मंसिर ८ गते बिहान ६ बजेसम्म सवारीसाधनलाई तोकिएका स्थानमा व्यवस्थापन गरिनेछ। मंसिर ६ गते राति १२ बजेदेखि मंसिर ७ गते बिहान ६ बजेसम्म राजमार्गमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनबाहेक अन्य सवारीसाधनको आवागमनमा रोक लगाइने निर्णय भएको छ। उक्त अवधिमा एम्बुलेन्स, प्रहरी, स्वास्थ्य, सरसफाइ तथा खानेपानी सेवासँग सम्बन्धित अत्यावश्यक सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ।

शिखर पूजनका क्रममा तोकिएको स्थानभन्दा माथि गएर फोटो तथा भिडियो खिच्नेलगायतका गतिविधिमा समेत रोक लगाइएको छ।

यसैबीच, मन्दिर व्यवस्थापन समितिले जात्रामा सहभागी हुने भक्तजनलाई मादक पदार्थ तथा लागूऔषध सेवन नगर्न, घरेलु हातहतियार तथा कानुनले निषेध गरेका सामग्री नबोक्न र होहल्ला, झैझगडा  नगर्न आग्रह गरेको छ।

जात्रालाई सभ्य, भव्य र सुरक्षित बनाउन धार्मिक आस्था, सामाजिक सद्भाव तथा आपसी मर्यादा कायम राख्दै सहयोग गर्न जिल्ला प्रशासन, स्थानीय तह र मन्दिर व्यवस्थापन समितिले भक्तजन, स्थानीय बासिन्दा तथा सम्पूर्ण सरोकारवालालाई अपिल गरेका छन्।

जात्रा व्यवस्थापनसम्बन्धी तयारीका लागि आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी व्रत राज पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका प्रमुख एसपी गुणराज न्यौपाने, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय दार्चुलाका प्रमुख अनुसन्धान अधिकृत गोविन्द पाण्डे, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतलगायत सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.