दार्चुला । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपालको सीमा विवाद र चुच्चे नक्साको विषयलाई छलफलको एजेण्डा बनाउन दार्चुलाको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमण सफलताको शुभकामना दिँदै उपाध्यक्ष कुँवरले नेपाल र भारतबीच हुने सन्धि तथा सम्झौताहरू नेपालको राष्ट्रिय हितअनुकूल हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीसमक्ष भारतले नेपालको भूमि फिर्ता माग गरे कुन भूमि फिर्ता गर्ने भन्ने प्रश्न उठाएका छन् ।
‘तर भ्रमणका क्रममा तपाईंले भनेजस्तै नेपालले मिचेको आफ्नो भूमि भारतले फिर्ता माग गर्यो भने कुन चाहिँ भूमि बताउनुहुन्छ र फिर्ता गर्नुहुन्छ ? कतै चुच्चे नक्साभित्रको मेरै पालिका त होइन ?’ उनले प्रश्न गरेका छन् ।
उनले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्साको विषयलाई समेत भ्रमणको छलफलमा समावेश गर्न आग्रह गरेका छन् । ‘होइन भने चुच्चे नक्साको बारेमा नि अवश्य छलफलको एजेण्डा बनाउनु होला,’ उनले लेखेका छन् ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको चुच्चे नक्सासँग जोडिएको व्यास गाउँपालिकाका उपाध्यक्ष कुँवरको यो अभिव्यक्तिले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवादको विषयलाई प्राथमिकता दिनुपर्ने माग गरेको छ ।