दुहुँका युवाद्वारा पाँचवटै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

दार्चुला । आफ्नो भविष्य निर्माणका क्रममा देश छोडेर विदेशमा रहेका युवाहरूले समेत जन्मभूमि, गाउँ–समाजको विकास र प्रगतिप्रति चासो राख्दै स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ।
दुहुँ गाउँपालिकाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने पवित्र उद्देश्यका साथ दुहुँ गाउँपालिका वडा नं. २ का विदेशमा रहेका युवाहरूले गाउँपालिकाभित्रका पाँचवटै स्वास्थ्य चौकीका लागि विभिन्न स्वास्थ्य सामग्री जुटाएर सहयोग गरेका हुन ।
आफूहरू सात समुद्रपारि रहे पनि जन्मभूमिप्रतिको माया, सामाजिक उत्तरदायित्व र सेवाभावलाई आत्मसात् गर्दै युवाहरूले गरेको यो सहयोगले स्थानीय स्वास्थ्य सेवा प्रवाहमा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, मानसिक स्वास्थ्य समस्याबाट पीडित दुहुँ गाउँपालिका वडा नं. २ गुना निवासी नवराज डडालको उपचारका लागि समेत विदेशमा रहेका युवाहरूले स्वस्फूर्त रूपमा आर्थिक सहयोग जुटाएका छन्। नवराजका बुवाले उपचारका लागि सार्वजनिक रूपमा सहयोगको अपिल गरेपछि कुनै आग्रह, दबाब वा प्रभावबिना युवाहरू सहयोगका लागि अघि सरेका हुन्।
सहयोगी मन भएका युवाहरूको मानवीय भावना र सामाजिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गरिएको छ। जन्मभूमिबाट टाढा रहेर पनि गाउँको स्वास्थ्य, शिक्षा र सामाजिक विकासप्रति चासो राख्दै सहयोग गर्ने सम्पूर्ण युवाहरूप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गरिएको छ।
Leave A Reply

Your email address will not be published.