नेपाली सेनाद्वारा बेलडाँडीमा वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरण गर्न सडक नाटकमार्फत जनचेतना

कञ्चनपुर ।

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा शून्य मानवीय क्षतिको लक्ष्यसहित सञ्चालन भइरहेको ‘शून्य मानवीय क्षति अभियान-२०८३’ अन्तर्गत रणसिंह दलले कञ्चनपुरको बेलडाँडीस्थित रौलेश्वर माध्यमिक विद्यालयमा सडक नाटकमार्फत जनचेतनामूलक कार्यक्रम प्रस्तुत गरेको छ।

 

पछिल्लो समय जंगली जनावर मानव बस्तीमा प्रवेश गर्ने क्रम बढ्दै जाँदा स्थानीय बासिन्दाको जनधन तथा बालीनालीमा क्षति पुग्ने जोखिम बढेको भन्दै वन्यजन्तुबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम आयोजना गरिएको हो।

 

सडक नाटकमार्फत हात्ती लगायतका जंगली जनावर बस्तीमा प्रवेश गर्दा आफू र आफ्नो परिवारलाई कसरी सुरक्षित राख्ने, बस्तीमा वन्यजन्तु देखिएमा कुन निकायसँग समन्वय गर्ने तथा बालीनालीमा क्षति पुगेमा राहत तथा क्षतिपूर्तिका लागि कसरी प्रक्रिया अघि बढाउने भन्ने विषयमा जानकारी दिइएको थियो।

 

कार्यक्रमबारे जानकारी दिँदै मेजर हेमन्त सिंहले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि स्थानीयस्तरमा सचेतना आवश्यक रहेको बताए। उनले बस्तीमा जंगली जनावर प्रवेश गरेको अवस्थामा तत्काल सम्बन्धित निकायलाई खबर गर्नसमेत आग्रह गरे।

 

सडक नाटकमार्फत प्रस्तुत गरिएका सन्देशले विद्यार्थी तथा स्थानीय समुदायलाई वन्यजन्तुको जोखिमबाट बच्ने उपाय, सावधानी र समन्वयका विषयमा सचेत गराउने अपेक्षा गरिएको छ।

 

मानव र वन्यजन्तु दुवैको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत यस्ता जनचेतनामूलक कार्यक्रमले स्थानीय समुदायलाई सुरक्षित व्यवहार अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.