कोठा भाडामा लिई बस्दाको अनुभव

दिलेन्द्र प्रसाद जोशी – काठमाण्डौमा कोठा भाडामा लिएर बस्ने हरुका आआफ्नै पिडाहरु छन, ति पिडित हरु मध्येको एउटा म पनि हु ।

आज म कोठा भाडा बारेका केहि सब्दहरु लेख्ने प्रयास गरि राखेको छु । मेरो अनुभवले भ्याएसम्म कोठा भाडाका विसयमा धेरै कुरा खुलाउने छु । भाडामा बस्नका लागि भनेजस्तो ठाउँ पाउनु निकै गाह्रो हुन्छ । शहरी क्षेत्रमा राम्रो ठाउँको माग बढी हुँदा आफूले चाहेजस्तो बस्ने ठाउँ झनै पाइँदैन । भाडामा बस्दामा हरेक भाडावालले अनेकन समस्या भोग्नुपर्छ। यस लेखमा भाडावालले भोग्ने समस्या बारे चर्चा गरेको छु ।

राजधानी भएर पनि पर्याप्त रोगजारीको अवसर छैन । सीमित खर्चले कोठाभाडा तिर्ने, घरखर्च चलाउनु पर्ने जस्ता समस्या धेरै छन् । निम्न आर्थिक अवस्था भएकाहरुले भने कोठा खोज्नैमै महिनौ भौतारिनु पर्ने समस्या छ । बल्ल–तल्ल कोठा पाएपनि आजभोली खानेपानीको समस्याबाट भाडामा बस्नेहरु बढी ग्रसित छन । घरवेटीहरुलाई भाडा बाहेक अरु कुनै वास्था हुदैन उनीहरुलाई त भाडासगको सरोकार हुन्छ ।

भाडामा बस्नेहरूको सबैभन्दा ठूलो समस्या भनेको सोचेजस्तो र आवश्यकता अनुसारको कोठा नपाउनु हो । भाडावालले आफू बस्ने कोठा वा घरलाई आफ्नै घरजस्तो मान्नुपर्छ । त्यसका लागि सो घर वरपरका छिमेकी र त्यहाँको वातावरण असल हुनुपर्छ । मुख्य कुरा घरभाडा आफुसङ्ग भएको बजेटले धान्ने हुनुपर्छ । सुरक्षित वातावरण, स्कुल र अस्पताल नजिक हुनु, सार्वजनिक यातायातको सहज पहुँच , पर्याप्त प्रकाश, भेन्टिलेसन र असल घरभेटी आदि कुराले भाडामा बस्न आकर्षित गर्छ । यस्तो घर पाउन बढी समय लाग्ने र प्रयत्न पनि त्यति नै गर्नुपर्छ ।

आफ्नो जन्मथलो छोडेर परिवारको आवश्यकता पूरा गर्न सर्वसाधारण काठमाडौं उपत्यकामा छिरेका हुन्छन् । उपत्यका छिरेर मात्र भएन, बस्ने बास पनि चाहियो । तपाईंहरु अधिकांशले उपत्यकाका घरहरु खालि भएकाले टुलेट भनेर टाँसेको देख्नुभएको होला । देशैभरि अहिले कति धेरै कोठा, फ्ल्याट र सटर खोज्ने संस्थाहरु सञ्चालनमा छन् । यस्ता संस्थाले कोठा, फ्ल्याट र सटर खोजिदिने भनेर सर्वसाधारणबाट चर्को रकम असुल्ने गरेको पनि भेटिएको छ ।

कोठा खालि हुनुभन्दा अगावै घरधनीले यी दलालहरुलाई कोठा खालि हुनेबारे जानकारी गराइसकेका हुन्छन् । त्यही अनुसार उनीहरुबीच रकम कमिसनको छलफल भइसकेको हुन्छ । मानौं, घरधनीले मेरो एउटा कोठाको ६ हजार हो भने तपाईं ८ हजार भन्नुस र कमिसन निकाल्नुस भन्छन । ठगिनेमा चाहि हामी सीधा जनता पर्‍यौं ।

अहिले उपत्यकाका विभिन्न ठाउँमा घरभाडादर पनि भिन्न–भिन्न छ । एरिया हेरेर एउटा कोठाको ५–१० हजारसम्म पर्न जान्छ । सटर पनि ठाउँ हेरेर १० हजारदेखि ८ लाखसम्म पर्न जान्छ । फ्ल्याट पनि २० हजारदेखि डेढ लाखसम्म पर्न जान्छ । त्यो पनि एक महिनाको । यो भाडा सरकारले तोकेको पनि होइन । कोठा खालि छ भने घरधनीले कोठा चाहिने मान्छेलाई सीधै कोठा दिए भइहाल्यो नि । किन यी दलालीहरुको पछि दौडिरहनु। कोठा खालि छ भनेर पम्लेट टाँस्ने अनि कोठा माग्न गयो भने नदिने । सर्वसाधारणले सीधै कोठा माग्न जाँदा उसलाई कोठा दिने हो भने यसरी ठगिनुपर्दैनथ्यो । कोठा खोज्ने दलालकोमा कोठा चाहियो भनेर सर्वसाधारण गयो भने उसले सर्वसाधारणसँग पनि रकम असुल्छ । त्यति मात्र नभएर पहिलो महिनाको केही अंश पनि दलाललाई नै दिने भनी मौखिक सम्झौतासमेत भएको हुन्छ ।

बहालमा बस्ने मान्छेले यत्रो पापड बेलेर कोठा त पाउँछ तर सेवा–सुविधाचाहिँ केही पनि पाउँदैन । बत्तीको पैसा पनि मिटर बिगारेर डबल लिन्छन । पार्किङ गरेको पनि पैसा तिर्नुपर्ने रे । फोहोरको पैसा पनि सबै भाडामा बस्नेसँग उठाउने । पानी छैन । लुगा सुकाउने ठाउँको सुविधा छैन । कोठा छोडेर जाने बेलामा रंग लगाइदिनुपर्ने । कोठा बस्ने मान्छेसँग पैसा लिने, बिल नदिने । एउटा कोठा नदिने । एउटा कोठा पाइहाले पनि महँगो भाडा तिर्नुपर्ने । कोठामा झ्याल नहुने, दिउँसै बत्ती बाल्नुपर्ने । एकदमै चिसो कोठा हुने । घरबेटीले भाडामा बस्नेलाई छतमा जान पनि दिँदैनन ।

अहिले बनेका अधिकांश घरहरु फ्ल्याट सिस्टम छन । तीनवटा दुलोजस्तो कोठा बनाउने अनि त भइहाल्यो फ्ल्याट सिस्टम । एउटा खाट नअट्ने कोठा निकाल्ने अनि फ्ल्याट सिस्टमको नाम दिएर जनता ठग्ने । महिनाभरि १०–१५ हजार रुपियाँ कमाएर गुजारा गर्नेहरुले कहाँबाट फ्ल्याट लिएर बस्नु ?

आर्थिक अवश्था कमजोर, विद्यार्थी, एकल महिला, अपांग र राम्रो जागिर नभएकाहरुलाई हत्तपत्त कोठा पाउनै मुस्किल हुन्छ । कुनै मानिसलाई कोठामा बस्दा रोग लाग्यो ।  घरबेटीहरुमा मानवता र जिम्मेवारी नामक भावना नै हुँदैन ।

सरकारले पनि यस्तो ठग घरधनीहरुको लागि भनेर किन ऐन–कानुन बनाउँदैन ?  सटर भाडा र कोठा भाडा पनि सरकार निर्धारण गर्न तयार छैन । यी घरबेटीहरुले राज्यलाई घरबहाल कर पनि तिरेका छैनन । सबै कोठा भाडामा लाउने, वडा वा नगरपालिकाको मान्छे परीक्षण गर्न आयो भने सबै कोठामा आफ्नै आफन्त बस्छन भनी राजस्व छली गर्ने । बाहिरबाट घरधनीहरु जति सुकिलामुकिला भएर हिँड्छन् उनीहरुको भित्री नियत त्यति नै खराब हुन्छ ।

हामी भाडामा बस्नेले खुट्टामा एकजोर चप्पल नलगाई, एक छाक मीठो नखाई घरबेटीलाई भाडा तिरेका हुन्छौँ तर पनि घरधनीले भाडामा बस्नेलाई दासीको रुपमा हेरेका हुन्छन । के हामी फोकटमा बसेका हौं र ? जहिले पनि यिनीहरुसँग डराएर दबाबमा बस्नुपर्ने । घरधनीहरुले यिनीहरु सुकुम्बासी हुन, यिनीहरुको कहीँ पनि घरजग्गा छैन भन्ने सोच राख्छन । हामीले यी शोषकहरुको दबाब कति दिन सहेर बस्ने ?

अझै कति घरधनीले त बैंकबाट कर्जा लिएर घर बनाएका हुन्छन रे । उनीहरुको भनाइअनुसार उनीहरुको बैंकको किस्ता तिर्नको लागि महिनाभन्दा अगावै भाडा तिर्नुपर्ने रे । के हामी सर्वसाधारणले बैंकबाट कर्ज लिएर घर बनाउनु भनेका थियौं ? त्यो किस्ता चुक्ता गरिसकेपछि त्यो घर कसको नाममा नामसारी हुन्छ ? घरधनी कि भाडामा बस्नेको ?

एकातिर महिनाभन्दा अगाडि नै तलब माग्न अप्ठ्यारो । तलब मागे पनि अफिसका साहुहरुले महिना नसिद्धीकन तलब दिँदैनन । जहिले पनि हामी जनता नै किन पिल्सिनुपर्ने बाध्यता ? हामी बहालमा बस्नेलाई घरधनीको घर बैंकमा होस कि फाइनान्समा, हामीलाई के मतलब । घरभाडा तिर्न सकुन्जेल त्यहाँ बस्छौँ नभए छोडेर अन्तै जान्छौँ ।

कोठामा किला ठोक्न मिल्दैन । धाराको टुटी र ढोकाको चुकुल बिग्रियो भने पनि भाडामा बस्ने आफैंले व्यहोर्नुपर्छ । घरभाडामा लाउँछन तर पानीचाहिँ किनेर खार्नपर्छ । लुगा धुन र नुहाउन पनि पानी किन्नुपर्छ । पानी दिन नसक्नेले किन घर भाडामा लगाउनु ? हामी कतिन्जेल सहेर बस्ने ?

कोठा भाडा निर्धारणका लागि प्रभावकारी कानून र सरकारी नीति अति आवश्यक भैसकेको छ । मनपरितन्त्रमा रमाउने घरधनीहरुलाई लगाम लगाउन सरकारले कठोर योजना ल्याउनुपर्ने घरवेटी पीडित बासिन्दाको आवाज छ । यसरी नै दैनिक रुपमा भाडामा वृद्धि हुँदै जाने हो भने निकट भविष्यमै काठमाडौंमा बसोबास गर्ने सर्वसाधारणहरु भाडाकै विषयलाई लिएर आन्दोलन गर्नुपर्ने दिन नआउला भन्न सकिन्न ।

दिलेन्द्र प्रसाद जोशी शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकडा दार्चुला हाल काठमाण्डौ ।

Leave A Reply

Your email address will not be published.