दार्चुला – मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् ।
अझै तीन चार दिन पारिलो घाम लाग्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले पूर्ण रुपमा मौसम खुल्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।
आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुनेछ । बाँकी प्रदेश १, २ र वाग्मती प्रदेशमा भने सामान्यदेखि आंशिक बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालगञ्ज विमानस्थलबाट मुगु र हुम्लासहित जुम्ला, डोल्पा र बाजुरामा उडान हुन सकेको छैन । एक हप्तादेखि उडान प्रभावित भएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । उडान नहुँदा यात्रु तथा बिरामी मर्कामा परेका छन्।
हिमपात हुँदा हुम्ला सदरमुकाम सिमकोटमा एक फिट जमेको छ । स्थानीय बासिन्दालाई घरबाट बाहिर निस्कन समस्या भएको छ। अत्याधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान छ ।