दसैंतिहारले सुदूरपश्चिमका सहर रित्तिए, गाउँघरमा भिडभाड

दार्चुला- घरभित्र समृद्धि र मनभित्र उल्लास ल्याउने पर्व हो बडा दसैं। यो पर्वको रौनकले घर आँगन टेकिसकेको छ। यतिबेला कोही दसैंको किनमेलमा व्यस्त छन्। कोही दक्षिणा जोहो गर्नतर्फ लागेका छन् भने कोही मूलघर फर्कदैछन्। हिन्दुहरुको महान चाड बडा दसैं मनाउन घर फर्किनेहरुको संख्या बढेको बढ्यै भएपछि गाउँघरमा उत्साह र रौनकता बढेको छ। लामो समयदेखि युवाविहीन भएका गाउँहरु अहिले भरिन थालेका छन्। युवाहरु घर फर्किएपछि दसैंको उल्लास झन तातेको छ। गाउँघरमा वर्षौपछिको भेटघाटपछि जमघट र भलाकुसारी गरेर रमाईलो गरिन थालिएको छ। देशका विभिन्न सहर तथा कामको खोजीमा परदेश पसेकाहरु गाउँ फर्कने क्रम बढेसँगै उल्लास र उत्साह बढेको डडेल्धुरा अमरगढीका स्थानीय विष्णु खत्री अनुभव सुनाए। उनले भने, ‘बडा दसैं सुरु भएयता गाउँ फर्केने बढेका छन्। यसले ग्रामीण भेगलाई नै चलायमान बनाइदिएको छ। गाउँ फर्किकाहरु भेटघाट र घुमघाममा मस्त देखिएका छन्।’ एकआपसमा खुसी साटासाटले गाउँको माहोल नै फेरिएको अनुभुति स्थानीयले गरेका छन्। दसैंको आगमनसँगै सुदूर पहाडका जिल्लामा बढी उल्लास बढेको छ। सुदूरपश्चिमेलीहरुमा परम्परागत रुपमै दसैंको समयमा आफन्तहरुको भेट हुने र एकै ठाँउमा बसेर दशै मनाउने चलन छ। उता गाउँ तथा पहाड भरिभराउ भइरहदा सहरक्षेत्र भने सुनसान बन्दै गएको छ। पहाडी ग्रामीणबस्ती भने चहलपहल बढेको डोटी निरौलीका स्थानीय तीर्थराज भट्टले बताए। ‘गाउँ फर्कनेहरुको लर्कोले गाडी पाउनसमेत मुश्किल भइरहेको छ। काम विशेषले देशविदेश गएकाहरु फर्किन थालेपछि घरमा रहेका आफन्तमा उमंग र उत्साह बढेको देखिन्छ।’ धनगढीसँग जोडिएको गौरीफन्टा र महेन्द्रनगरसँग जोडिएको गड्डाचौकी नाका भएर दैनिक सयौँको संख्यामा नेपालीहरु घर फर्किरहेका छन्। यस्तै देशविदेश लगायत ठूला सहरहरुबाट समेत गाँउ फर्केनेको लर्को लाग्दा गाँउघरमा रौनकता थपिएको स्थानीय बताउँछन्। दसैं सुरु भएसँगै घर फर्किरहेका नेपालीहरुमा उत्साह जागेको हो। उनीहरुले एक अर्कालाई भेटघाट गर्ने र दशैका लागि आवश्यक समानको बन्दोबस्त गर्न थालेका छन्। दसैंमा सहरमा जनसंख्या कम हुदै गएको छ भने गाउँघरमा भेटघाट बाक्लिएको छ। बैतडीको पुरचौडी नगरपालिका वडा नम्बर ८ र ९ को मल्लादेही र मल्लादेहीमा लाग्ने मेलाका कारण पनि यहाँको माहोल उल्लासमय बन्दै गएको स्थानीय एवं पूर्व वडाअध्यक्ष जनकबहादुर विष्टले बताए। ‘यसअघि कोभिडका कारण ३ वर्षसम्म घर फर्कन नसकेकाहरु पनि यतिबेला घर फर्कन थालेपछि गाउँको परिवेश नै फेरिएको देख्न सकिन्छ।’

 

Leave A Reply

Your email address will not be published.