दार्चुला – रामेछापमा विवाहको भोज खाएका एकै गाउँका ३० जना बिरामी परेका छन् । मङ्सिर २५ गते रामेछाप नगरपालिका–५ रामपुर साईटारका प्रदीप मगरको बिहे भोज खाएका ३० जना बिरामी परेका स्थानीय बासिन्दा कनक मगरले जानकारी दिनुभयो ।
अहिलेसम्म १४ जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको र अरू केहीलाई अस्पताल ल्याउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । भोज खाएकामध्ये धेरैजसो बालबालिका र ज्येष्ठ नागरिक बिरामी परेको स्थानीय बासिन्दा काली मगरले बताउनुभयो ।
बिरामीमा पेट र टाउको दुख्ने, पखाला लाग्ने, बान्ता आउने समस्या देखिएको र बिरामीको अवस्था सामान्य रहेको अस्पतालका विशेषज्ञ डाक्टर मनोज यादवले बताउनुभयो । बिरामीको अवस्था सामान्य रहेको छ । जिल्ला अस्पतालले गाउँका सबै बिरामी भएको जानकारी पाए लगतै द्रुत व्यवस्थापन समिति बनाएर औषधि र चिकित्सक सहितको टोली रामपुर साईटार पठाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो ।