तिब्बत प्रवेशका लागि सांसद बडूलाई ज्ञापन, टिंकर नाकालाई बैधानिकताको माग

दार्चुला : चीनको स्वशासित क्षेत्र तिब्बत संग सीमाना जोडिएको दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ ले दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्र प्रसाद बडूलाई ज्ञापन पत्र बुझाएको छ । वडा नम्बर १ का अध्यक्ष अशोक सिंह बोहराले टिंकर नाकाबाट तिब्बत (ताक्लाकोट) प्रवेश गर्न सहजीकरण गरिदिन भन्दै ज्ञापन पत्र बुझाउनुभएको हो । कोरोना कालदेखि बन्द रहेको टिंकर नाका सुचारु गरी व्यापारीहरुलाई सहज रुपमा प्रशासनबाट पास (प्रवेश अनुमति पत्र) उपलब्ध गराउनका लागि ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाइएको वडाअध्यक्ष अशोक सिंह बोहराले बताए ।

सांसद बडूलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ– ‘टिंकर नाका कोरोना कालदेखि बन्द रहेकोे अवस्थामा सम्पूर्ण सरोकारवालाहरुको पहल, प्रयासले नाका खुल्ने समाचारले हर्षित भएका व्याँसबासी (तिब्बती व्यापारी) जिल्ला प्रशासन बाट समयमा तिब्बत जाने पास (प्रवेश अनुमति पत्र) नपाउँदा दुःखित छन् । साउन ३२ गते माननीय ज्यूकै सचिवालयको फेसबुकबाट २०८० भदौ ३ गतेबाट जिल्ला प्रशासनले तिब्बत जाने पास जारी गरिने भनेर जानकारी गराइएको भएपनि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट तिब्बत प्रशासन संग औपचारिक छलफल नभएकोले अहिले पास जारी गर्ने कुनै निर्णय नभएको भनेर पास जारी नगरेको हुँदा जिल्ला प्रशासन दार्चुला संग पुनः छलफल गरी तिब्बत प्रशासन संग समन्वय गरेर तत्काल तिब्बत प्रवेश अनुमतिपत्र उपलब्ध गराउनको लागि सहजीकरण गरिदिन हुन यहाँको ध्यानाकर्षण गराउँदछौ ।’

यस्तै निकट भविष्यमा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला चीन सरकारसँग टिंकर नाकालाई बैधानिक नाका कायम गर्न माग गर्दै यस विषयमा प्रधानमन्त्रीसँग छलफल अगाडी बढाइदिन आग्रह गरिएको छ । टिंकर नाकालाई व्यवस्थित र सुरक्षित नाकाको रूपमा स्थापित गर्न छाङरुको सीमा प्रशासन कार्यालयलाई अध्यागमन कार्यालयमा रुपान्तरण गरी औपचारिक रूपमा नियमित कार्यालय संचालन गर्न माग गरिएको छ ।

यस्तै टिंकर छोटी भन्सार कार्यालय पुनःस्थापना गर्न, टिंकरमा तत्काल बीओपी स्थापना, कौवा क्षेत्रमा बीओपीका लागि आवश्यक पूर्वाधार निर्माण र व्याँस क्षेत्र जोड्ने पैदलमार्गका साथै दार्चुला–टिंकर सडकलाई तीव्र गतिमा निर्माण कार्य सम्पन्न गर्ने विषयमा सम्बन्धित निकायसँग पहलको मागसहित ज्ञापन बुझाइएको वडाअध्यक्ष बोहराले बताए ।

Leave A Reply

Your email address will not be published.