किशोरावस्थामै आमा बन्दै

दार्चुला- बिहेबारी बीस वर्ष पारी’ भन्ने नारा कानूनमा उल्लेख गरिएपनि दार्चुलामा भने २० वर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दो छ । पछिल्लो तीन वर्षको अवधिमा ८ सय ७० जना किशोरी २० वर्षमुनि नै आमा बनेका स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
आर्थिक वर्ष २०७७-०७८ मा जिल्लाभर २ हजार ६ सय ९५ महिला गर्भवती भएकोमा ३ सय ३७ जना गर्भवती २० वर्ष मुनिका थिए । यस्तै, आर्थिक वर्ष २०७८-०७९ मा जिल्लाभर २ हजार ३ सय ६९ महिला गर्भवती भएकोमा २ सय ९७ जना गर्भवती २० वर्षमुनिका थिए । यस्तै, आर्थिक वर्ष २०७९-०८० मा २ हजार २२ महिला गर्भवतीमा २ सय ३६ जना २० वर्षमुनिका गर्भवती रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य संस्थामा दर्ता तथ्यांकले १७ वर्षदेखि लिएर २० वर्षसम्मका महिलाहरु पनि आमा बन्ने गरेको पाइएको छ । यसरी हेर्दा आर्थिक वर्ष २०७७-०७८ मा १२ दशमलव ५० प्रतिशत महिला २० वर्षमुनिका गर्भवती रहेका छन् भने आर्थिक वर्ष २०७८-०७९ मा आउँदा यो संख्या बढेर १२ दशमलव ५३ प्रतिशत पुगेको छ । यस्तै गत आर्थिक वर्ष २०७९-०८० मा ११ दशमलव ६७ प्रतिशत २० वर्षमुनिका गर्भवती महिला रहेका छन् ।जिल्लाभरका स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने २० वर्ष मुनिका किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । ‘जिल्लामा किशोरावस्थामा सुत्केरी हुने दर घट्न सकेको छैन, पछिल्ला वर्षमा १२ प्रतिशत २० वर्ष मुनिका किशोरी गर्भवती भइरहेका छन्, यसले जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्छ उनले भने ।’
किशोरी अवस्थामा प्रजनन अंगहरूको पूर्ण विकास नहुने हुँदा गर्भधारण गर्नु निकै जोखिमपूर्ण हुने स्वास्थ्यकर्मी बताउँछन् ।

Leave A Reply

Your email address will not be published.