दार्चुला । साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३–० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो। पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भएको छ। फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गर्दै खेलमा पकड जमाएको थियो। दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले खेलमा जित हासिल गर्न भने सकेन।
अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि जितेको हो। खेलको चौथो मिनेटमा नै कप्तान किरण चेम्जोङले दोहोरो बचाउ गर्दै खेल गोलरहित राखे। यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई पहिलो पटकमा विफल पारेका किरणले रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई उत्कृष्ट ढंगले बचाए। त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नवयुग श्रेष्ठको अन्तिम प्रहार आकासियो।
१४ औं मिनेटमा भारतको लगातार आक्रमणलाई नेपाली डिफेन्सले गोल हुन दिएन । लगातारको तीन प्रहार डिफेन्सले छेकेपछि अन्तिम प्रहार भने गोलरक्षक किरणको हातमा टुंगिएको थियो । १७ औं मिनेटमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर चिप्लेपछि सुवर्ण अवसर पाएपनि दुर्भाग्यवश उनी पनि चिप्लिन पुग्दा अन्तिम प्रहार गर्न सकेनन्।२७ औं मिनेटमा सुनिल क्षेत्रीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारलाई किरणले बचाए। ४३ औं मिनेटमा लालेङमावियाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। ४४ औं मिनेटमा यासिरको क्रसमा सुनिलको भली प्रहार पोस्टभन्दा माथिबाट जाँदा खेल बराबरीमा रहेको थियो।