दार्चुला । जिल्ला अस्पताल दार्चुलामा दुई जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका अनुसार चालु आर्थिक वर्षको साउन र भाद्र महिनाको आज सम्म दुई जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ ।
अस्पतालका सुचना अधिकारी डम्बर दत्त भट्टले एक जना महिला र एक जना पुरुषमा डेंगु संक्रमण पुष्टि भएको बताएका छन । उनका अनुसार महाकाली नगरपालिका वडा ६ घर भएकी महिला र कोहलपुर बाके जिल्ला रामनगर बैजनाथ सुतैया घर भएका पुरुषमा डेंगु संक्रमण पुष्टि भएको बताएका हुुन ।
महिलामा गत साउन र पुरुषमा हिजो मात्रै डेंगु संक्रमण पुष्टि भएको बताइएको छ । डेंगु देखिएका पुरुषलाई अस्पतालमै राखिएको छ । उनको स्वास्थ्यमा हिजोको भन्दा आज केही सुधार भएको पनि अस्पताले जनाएको छ ।
जिल्ला अस्पतालमा गत आर्थिक वर्ष २०८१÷०८२मा ३२ जना महिला पुरुषमा डेंगु संक्रमण पुष्टि भएको थियो ।
जसमध्ये गत वर्ष १४ जना महिला र १८ जना पुरुषमा डेंगु संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गरेको डाक्टरहरुले बताएका छन ।
वर्षातको सिजनमा फुलदानी, पानीको ट्यांकी र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेले फुल पार्ने र त्यसैबाट यसको वृद्धि भएर डेंगुको प्रकोप बढ्ने बताइएको छ ।
डेंगुको संक्रमण भएमा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता विमिराहरू आउने र वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षणहरु देखा पर्ने डाक्टरहरुको भनाई रहेको छ ।