बेसाहारा आमा बुवालाई नगर प्रमुख भट्टको उपहार

दार्चुला –      बेसाहारा आमा बुवालाई दार्चुलाको महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले लक्ष्मी पूजाको दिनलाई जुराएर रासन कार्ड वितरण गर्नुभएको छ ।

नगरपालिकाको चालु आर्थिक वर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम र विनियोजन ऐनमा समावेश गरिए अनुसार लक्ष्मीपुजाको दिनको अवसरमा नगर प्रमुख भट्टले आज एक कार्यक्रमका बिच बेसाहारा आमा बुवालाई निशुल्क रासन कार्ड वितरण गरिएको हो ।

आज महाकाली नगरपालीका वडा नम्बर ७ धाप र ८ का बेसाहारा आमा बुवालाई निशुल्क रासन कार्ड वितरण गर्नु भएको महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले बतानुभयो । सो रासन कार्ड मार्फत विभिन्न कारणले छोरा छोरी नभएका वा छोरा छोरी गुमाएर एक्लो भएका आमा बुवालाई मासिक रुपमा निशुल्क खाद्यान्न उपलब्ध गराइने भएको छ ।

“बेसाहारा आमा बुवाको साहारा नगर प्रमुख तथा टुहुरा बालबालिकाको अभिभावक नगर प्रमुख कार्यक्रम”  कार्यविधि अनुसार ६० वर्ष भन्दा माथीका बेसाहारा आमा बुवालाई मासिक रुपमा निशुल्क खाद्यान्न वितरण गर्न कार्यविधि तयार गरी रासन कार्ड वितरण गरिएको महाकाली नगरपालिकाका प्रवक्ता पदम सिंह महरले जानकारी दिनुभयो ।

महाकाली नगरपालिका वडा नम्बर ७ धापमा आयोजना गरीएको एक कार्यक्रमका बिच वडा नम्बर ७ र ८ का १८ जना बेसाहारा आमा बुवालाई रासन कार्ड वितरण गरेको उहाले बताउनुभयो । रासन कार्ड मार्फत बेसाहारा भएका आमा बुवालाई मासिक रुपमा १५ किलोग्राम चामल, समान २–२ किलोग्राम नुन र दाल, २ लिटर तेल तथा ४ गोटा नहाउने र ४ गोटा लुगा धुने साबुन उपलब्ध गराइने जनाइएको छ ।

 

बेसाहारा आमा बुवाको साहारा नगर प्रमुख कार्यक्रम मार्फत १ लाख बराबरको स्वास्थ्य बिमा गरी निशुल्क उपचारको व्यवस्था समेत गरीएको नगर प्रमुख भट्टले बताउनुभयो । आज वडा नम्बर ७ र ८ का बेसाहारा आमा बुवालाई कार्ड वितरण गरिएकोमा तिहार लगत्तै सबै वडाका बेसाहारा आमा बुवालाई निशुल्क रासन कार्ड वितरण गर्ने योजना रहेको उहाले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.