दार्चुलामा मतदाता नामावली सङ्कलन सुरु, कति छन् जिल्लामा मतदाता ?

दार्चुला । जिल्ला निर्वाचन कार्यालय दार्चुलाले मतदाता नामावली सङ्कलन सुरु गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि निर्वाचन कार्यालय दार्चुलाले शुक्रबार देखि नामावली सङ्कलन कार्य पुनः सञ्चालन गरेको हो ।

निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकारी चित्रप्रकाश जोशीले नामावलीमा नाम दर्ता गराउन १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले जिल्ला निर्वाचन कार्यालयमा आएर नामावली टिपाउन आग्रह गरेका छन ।

निर्वाचन कार्यालयले नामावली दर्ताका लागि अगामी कात्तिक ३० गतेसम्मको समयसीमा तोकेको छ । कात्तिक ३० पछि निर्वाचन कार्यक्रम सुरु हुने हुँदा नामावली सङ्कलनका लागि सो समयसीमा तोकिएको सुचना अधिकारी जोशीले जानकारी दिए ।

सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ देखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न पाइने जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचन कार्यालय दार्चुलाका अनुसार जिल्लामा हाल १८वर्ष पुरा भएका ९० हजार ८८० जना मतदाता रहेको छन ।

जसमध्ये पुरुष ४६ हजार ४७३ जना र महिला ४४ हजार ४०७ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोक्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.