जनकपुर । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको लागि चार दलबिच सहमति भएको छ ।
सत्तारुढ दुई दलले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री सतिश सिंहको सरकार अल्पमतमा परेको थियो । कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार गठन गर्ने चार दलबिच सहमति भएको जनमत पार्टीका नेता महेश
यादवले पुष्टि गरे । उनका अनुसार मधेसमा नयाँ सरकार बनाउने करिब टुंगो लागिसकेको छ ।
‘विभिन्न चरणको छलफलपश्चात् कांग्रेसलाई नेतृत्व दिएर चार दलको समीकरणमा नयाँ सरकार बनाउने सहमति भएको छ,’ उनले भने । अर्थात् पुरानै समीकरणमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा मिलेर नयाँ सरकार
गठन हुने भएको यादवले बताए । उनका अनुसार प्रदेश प्रमुख आएपछि बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार निर्माणको लागि पत्र पेस गरिनेछ ।