दार्चुला । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता स्थानीयवासीहरुले बसाइँ सर्न नपाउदै प्रहरी भने चिसो छल्न छांगरुमा झरेको छ ।
कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायालेकस्थित प्रहरीहरू छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेका का छन ।
हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।
अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् । त्यहाँका स्थानीयवासी आगामी मङ्सिर पहिलो सातामात्रै सदरमुकाम खलङ्गा बसाइसराइ ( कुञ्चा)सर्ने तयारी भएको व्याँस गाउँपालिका १ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिनुभयो । “बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा सर्ने सम्भावना छ, अस्ती दुईपटक हिमपात हुँदा आधा फिट हिउँ जमेको थियो”, उनले भने ।
तिंकरमा रहेका प्रहरी जाडोयाममा वर्षेनी नजिकका अन्य युनिटमा सर्ने गर्छन् । अहिले प्रहरीका लागि छांगरु नीतिकुण्डमा पक्की भवन निर्माण सुरुआत भएको छ ।
तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी)को भवन यस वर्ष निर्माण भएको छ तर सशस्त्र प्रहरीले बस्न सुरु गरेका छैनन् । चीनसँग जोड्ने मार्गमा रहेको प्रहरी चौकी भवन सुविधासम्पन्न नहुँदा सुरक्षाकर्मी त्यहाँ बाह्रैमास बस्न नसकिने प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।
छांगरुमा अहिले सशस्त्र प्रहरीको नम्बर ५० गुल्म रहेको छ । गुल्मका लागि गत वर्षबाट भवन निर्माण सुरु भए पनि अधुरै छ । सशस्त्रले अहिले भाडाको घरमा बसेर ड्युटी गर्दै आइरहेको छ । यहाँका स्थानीयवासी छ महिना चिसो छल्न सदरमुकाम खलङ्गा र छ महिना गर्मी छल्न व्याँसको छांगरु तिंकर उक्लिने गर्छन् । उनीहरू नेपालतिर आउन बाटो नभएपछि हरेकपटक भारतीय बाटो हुँदै बसाइसराइ गर्ने गरेका छन् ।