अस्थिर पुस्ताको वास्तविकता

गोविन्द सिंह साउद

हामी अहिले एउटा अस्थिर पुस्ताको युगमा बाँचिरहेका छौं। विश्वास गर्नुस् या नगर्नुस्, यो पुस्तासँग कुनै ठोस लक्ष्य छैन, कुनै उच्च आदर्श छैन, र कुनै पवित्र मिशन पनि छैन। बिहानको सुनौलो घाम ताप्न उनीहरूलाई मन लाग्दैन, वर्षाको पानीमा भिज्न रुचाउँदैनन्। खेतको हिलो वा घाँस काट्ने काम उनीहरूका लागि एलर्जीझैँ बनेको छ। आधा किलोमिटर टाढा पुग्न पनि रिक्सा वा अटोको पर्खाइमा आधा घण्टा बिताउँछन् — हो, यही हो हाम्रो अस्थिर पुस्ता।

उनीहरूले पुस्तक पढ्दैनन्, पत्रिका हेर्दैनन्, खेलकुदमा चासो राख्दैनन्। व्यायाम गर्दैनन्, बिहानको नास्ता गर्दैनन्। ठूला-बढा देख्दा नमस्कार गर्नु त टाढाको कुरा भयो, नदेखेझैँ गर्दै हिँड्छन्। कसैको शरीरमा ठोक्किए “माफ गर्नुहोस्” भन्ने सभ्यता हराइसकेको छ — मुस्कान त देखिन्छ, तर त्यसमा संवेदनाको अंश पाइँदैन। आजको पुस्तामा नम्रता, कृतज्ञता र सभ्यता हराउँदै गएको छ। ‘के हुन्छ र!’ भन्ने लापरवाह मनोवृत्तिले उनीहरूलाई हरेक पाइला-पाइलामा लज्जित बनाइरहेको छ। सल्लाह दिन खोज्नुभयो भने उल्टै गलत ठहरिन सक्नुहुन्छ — किनभने उनीहरू आलोचना होइन, केवल प्रशंसा मात्र सुन्न चाहन्छन्। बसमा चढ्दा पनि दृश्य त्यही हुन्छ — खाली सिटमा बस्नका लागि ती युवाहरूबीच प्रतिस्पर्धा हुन्छ। तपाईंलाई धकेल्दै बस्छन्, कानमा इयरफोन लगाएर आफ्नै संसारमा हराउँछन्। तपाईं उमेरले बुबा-हजुरबाजस्तै हुनुहुन्छ, तर उनीहरूलाई त्यसको कुनै अर्थ छैन। सबैभन्दा भयावह कुरा त के भने — जुन ठाउँमा उनीहरू उभिनुपर्ने हो, त्यहीँ कुर्सी खोज्छन्; जहाँ मौन बस्नुपर्ने हो, त्यहाँ ज्ञान बाँड्छन्।

रातभर मोबाइलमा अनलाइन, बिहानभर सुत्ने; सूर्यको उदय र अस्त दुवै उनीहरूले देख्दैनन्। बाहिरी खेलकुद घृणित लाग्छ, घरभित्र मोबाइल चलाउनु नै सुखको प्रतीक बनेको छ। फेसबुक, युट्युब, टिकटक, रिल्स र गेम — यी नै उनीहरूको संसार हुन्।

उनीहरूलाई इतिहास थाहा छैन, साहित्यको मर्म बुझ्दैनन्, कला र संस्कृतिप्रति बेखबर छन्। पुस्तक किन्दैनन्, पढ्दैनन्, बुझ्दैनन्। भानुभक्त आचार्य, इमानसिंह चेम्जोङ, कवि नवराज लम्साल वा लेखक सन्तोष कार्की मौसुफ कसैलाई चिन्दैनन्, तर आफूलाई दक्ष ठान्छन्।

उनीहरूले हिँड्न, दौडिन, रुख चढ्न, पौडिन, गाउन र रंगिन पनि बिर्सिसकेका छन्। खोलाको धमिलो पानी तर्न हिम्मत छैन, डाँडाको उकालो चढ्ने साहस छैन। उनीहरूमा न सासको जोश छ, न भावना, न त आफन्तप्रतिको प्रेम नै। तर एउटा सीप उनीहरूमा उत्तिकै छ — मोबाइल चलाउने। उनीहरूले तीव्र गतिमा स्क्रोल गर्न सक्छन्, तर जीवनका पानाहरू पढ्न सक्दैनन्। आजको पुस्तामा न मान बाँकी छ, न सम्मान, न अनुशासन। कहिले हिँड्ने, कहिले रोकिने, कहिले बोल्ने, कहिले सुन्ने — यसको ज्ञान उनीहरूलाई छैन। र अन्त्यमा, दोष केवल उनीहरूमा होइन — हामी अभिभावक, हाम्रो शिक्षा प्रणाली र समाज पनि उत्तिकै जिम्मेवार छौं।

✍️ गोविन्द सिंह साउद
भीमदत्त नगरपालिका, कञ्चनपुर

Leave A Reply

Your email address will not be published.