दार्चुला । विभिन्न मुद्दामा अदालतले दोषी ठहर भएर लामो समयदेखि फरार रहेका १० जना प्रतिवादीलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी टोलीले विभिन्न मितिमा अदालत तथा प्रशासनबाट कैद सजाय तोकेका तर भुक्तान नगरि फरार रहेका १० जना प्रतिवादी पक्राउ गरेको हो ।
दुई दिनमा जिल्ला विभिन्न स्थानबाट १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए । अहिले प्रहरी फरार प्रतिवादी पक्राउको लागि विषेश अप्रेशन सञ्चालन गरेको र सोही अनुसार दुई दिनमा १० जना फरार प्रतिवादीलाई पक्राउ गरिएको उनले बताए ।
लागूऔषध मुद्दामा १२ दिन कैद सजाय तोकिएका दार्चुलाको नौगाड गाउँँपालिका वडा नम्बर १ ईयरकोट बस्ने २२ वर्षीय देव सिह ठगुन्ना र सोही मुद्दामा ३ महिना २८ दिन कैद सजाय र २० हजार जरिवाना तोकिएको महाकाली नगरपालिका वडा नम्बर ४ तल्लासैन बस्ने ५० वर्षीय मोहन सिह बिष्टलाई पक्राउ गरिएको छ ।
त्यस्तै जुवा सम्बन्धी कसुरमा १ महिना कैद सजाय र ३० हजार जरिवाना तोकिएका दुहँ गाउँँपालिका वडा नम्बर २ बस्ने ३४ वर्षीय जनक बडाललाई पक्राउ गरिएको छ । त्यस्तै महाकाली नगरपालिका वडा नम्बर ३ बस्ने ४० वर्षीय डम्मर सिह महरा, मालिकार्जुन गाउँपालिकाका २४ वर्षीय निरज धामी, मालिकार्जुन ३ का ३४ वर्षीय कृष्ण सिंह धामी पक्राउ परेका छन् ।
त्यस्तै महाकाली नगरपालिका वडा नम्बर ४ बस्ने ४१ वर्षीय धन सिंह फराल, महाकाली ४ कै ४२ वर्षी रतन सिंह खाती, सोही ठाउँका ४० वर्षीय खिमानन्द भट्ट र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ बस्ने ४६ वर्षीय जनक राज जोशीलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई कैद सजाय भुक्तानका लागि अदालत तथा प्रशासन पठाएको प्रहरीले जनाएको छ ।
