दुहुँमा जनविकास माविको चारकोठे भवन उद्घाटन

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका–३ बारबाजस्थित जनविकास माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको चारकोठे विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।

बुधबार आयोजित एक समारोहबीच दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले नवनिर्मित भवनको औपचारिक उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालयको भौतिक पूर्वाधार विकास गरी विद्यार्थीलाई गुणस्तरीय, सहज र सुरक्षित शिक्षण सिकाइको वातावरण उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरिएको हो । नयाँ भवन निर्माण भएसँगै विद्यार्थीको पठनपाठनमा सहजता आउनुका साथै विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा योगदान पुग्ने गाउँपालिका अध्यक्ष बडालले बताए ।

दुहुँ गाउँपालिकाले शिक्षा क्षेत्रको विकाससँगै विद्यालयहरूको भौतिक पूर्वाधार विस्तार र शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर काम गर्दै आएको जनाएको छ ।

भवन निर्माण कार्यमा सहयोग तथा योगदान पुर्‍याउने सम्पूर्ण पक्षलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.