दार्चुलाको नौगाड गाउँपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिदै

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले दीर्घरोगीहरुलाई उपचार खर्च उपलब्ध गराउन थालेको छ । गाउँपालिकाको उपहार कार्यक्रम अन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी रु ५० हजार सम्म उपचारका लागि आर्थिक सहयोग गर्न थालिएको गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनु भयो ।

गाउँपालिकाका सबै वडाहरुमा रहेका मुटुरोगी, क्यान्सर, मिर्गौला लगायत रोगबाट पीडितलाई वार्षिक रुपमा एक पटक रु ५० हजार सम्म उपचार खर्च उपलब्ध गराउने नीति लिइएको उहाँले बताउनु भयो । दीर्घरोगबाट बचाउन गाउँपालिकाले विशेष स्वास्थ्य नीति र कार्यक्रमसमेत अघि सारेको उहाँको भनाइ छ ।

गाउँपालिका भित्र मिर्गौला, क्यान्सर पीडित, दम, मुटुका रोगीलगायतका कडा र दीर्घकालीन प्रकृतिका रोगको उपचारको अभावमा छटपटिरहेका गाउँपालिका भित्रका विपन्न, गरीब, असहाय, अशक्त रोगीको लागि प्राथमिक उपचारसँगसँगै सुविधा सम्पन्न अस्पतालमा लैजान प्रेरित गरिने पनि गाउँपालिकाले जनाएको छ ।
साथै त्यस्ता प्रत्येक रोगीलाई गाउँपालिकाको बजेटबाट ५० हजारका दरले औषधि उपचार खर्च उपलब्ध गराउने निर्णय गरिएसँगै हाल सम्म ३० जना रोगीले यस किसिमको सुविधा लिइसकेको गाउँपालिकाले जनाएको छ । रोगीको पहिचान गर्दा सम्बन्धित वडा कार्यालयले सिफारिस गरेको आधारमा यस किसिमको सुविधा उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ । यो काक्रमका लागि गाउँपालिकाले प्रत्येक वर्ष १० ÷१० लाख रुपैँया बजेट विनीयोजन गर्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.