दार्चुला । ४० जना क्षमता भएको कारागार कार्यालय दार्चुलामा हाल ८७ जना कैदीबन्दी रहेका छन् ।
कारागारमा रहेका सबै कैदीबन्दीहरु अहिले पुरुष मात्रै रहेका छन् । क्षमता भन्दा बढी कैदी बस्नुपर्ने अवस्थाले व्यवस्थापन र सुरक्षाका चुनौती बढ्दै गएको छ ।
तर यहाँ रहेका कैदीलाई व्यवस्थित गर्नुको सट्टा उल्टै ९ जना कैदीबन्दीलाई बैतडीबाट स्थानान्तरण गरी दार्चुला कारागारमा ल्याइएको छ ।
कारागार कार्यालय दार्चुलाका जेलर सरिता चन्दका अनुसार बैतडी कारागारबाट ९ जना कैदी हालसालै दार्चुला कारागारमा स्थानान्तरण गरिएको बताएका छन् ।
बैतडी कारागारबाट ६ जना थुुनुवा र ३ जना कैदीगरी ९जनालाई दार्चुला कारागारमा ल्याइएको बताएका छन् ।
दार्चुला कारागारमा कैदीहरूको संख्या बढ्दै गए पनि भौतिक संरचनामा केही सुधार गरिएको प्रशासनले बताएको छ ।
यसअघि गत भदौ २४ गते बेलुकी कारागारमा सुरक्षा कमजोर देखिएको थियो । सो दिन ७१ जना कैदी एकै पटक फरार भएका थिए ।
कारागार प्रशासनका अनुसार भागेका मध्ये ६५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। तर अझै ६ जना फरार रहेका र उनीहरूका लागि प्रहरीले खोजी कार्य निरन्तर जारी राखेको कारागारले जनाएको छ ।
फरार घटना पश्चात् कारागारको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।