दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा ७ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय धापको ६१औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस सम्पन्न भएको छ । मंगलबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव सिंह धामीको अध्यक्ष तथा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक सुन्दर सिंह बुढाथोकीले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा नगर उपप्रमुख दुर्गाकुमारी खत्री बिष्ट, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज जोशी, सामाजिक विकास कार्यालय प्रमुख रामचन्द्र ओझा, महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगाका प्रधानाध्यापक दामोदर जोशी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुढाथोकीले विद्यालयको वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका छन । जस अनुसार विद्यालयको कुल आय ३ करोड ८४ लाख ६१ हजार ४ सय ९९ रुपैँया २८ पैसा रहेको छ भने व्यय २ करोड ९२ लाख ५२ हजार ९ सय १३ रुपैँया २३ पैसा रहेको प्रधानाध्यापक बुढाथोकीले सरोकारवालाहरुलाई बताएका छन् । सो अवधिमा ९२ लाख ८ हजार ८ सय ८६ रुपैयाँ ५ पैसा मौजदात रहेको पनि उनले बताए ।
वार्षिकोत्सव समारोहमा जनचेतना मुलक नाटक, निवन्ध प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता सञ्चालन गरिएको उहाँले बताउनुभयो । समारोहकै अवसरमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज जोशीले स्थापना गरेको अक्षयकोषबाट ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । साथै विद्यालयमा कार्यरत १० जना शिक्षक कर्मचारी र अहिले सम्म परीक्षामा ए प्लस नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयले हरेक वर्ष आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउदैँ आएको छ ।