दार्चुलामा भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको काम कार्वाही पुनः सुचारु गर्ने निर्णय

दार्चुला । भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लाल सिंह धामीको अध्यक्षतामा बसेको बैठकले अघिल्लो आयोगबाट काम सम्पन्न गर्न बाँकी रहेका नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा रहेका भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको काम कार्वाही पुनः सुचारु गर्ने निर्णय गरेको छ। लामो समयदेखि रोकिएका प्रक्रिया अगाडि बढाइ नागरिकलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने उद्देश्यले निर्णय गरिएको हो।
बैठकमा जिल्लामा हालसम्म भएका प्रगतिको समीक्षा गर्दै अव्यवस्थित बसोबासीको पहिचान, नापजाँच र आवश्यक प्रक्रिया तीव्र बनाउने विषयमा छलफल गरिएको थियो। अध्यक्ष धामीका अनुसार यसअघि वितरण गर्न बाँकी रहेका पूर्जाका कामलाई प्राथमिकताका साथ अघि बढाइनेछ।
हालसम्म दार्चुला जिल्लामा ७० जना अव्यवस्थित बसोबासीलाई रातो पुर्जा वितरण गरिएको छ। अध्यक्ष लाल सिंह धामीका अनुसार शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ मा ५२ जना र दुहुँ गाउँपालिकामा १८ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (रातो पुर्जा) वितरण गरिएको बताउनुभयो। आगामी दिनमा बाँकी स्थानीय तहमा पनि प्रक्रिया छिटो सम्पन्न गरिने उहाँको भनाइ छ।

Leave A Reply

Your email address will not be published.