झोलुङ्गे पुल निर्माणमा खटिएका मजदुरले पाँच वर्षपछि पाए पारिश्रमिक

दार्चुला। दार्चुलाको दुहुँ गाउँपालिकास्थित थल सिलिङचौरा बहुउद्देश्यीय झोलुङ्गे पुल निर्माणमा संलग्न मजदुरहरूले पाँच वर्षपछि आफूहरूले पाउनुपर्ने ज्याला, मजदुरी तथा निर्माण सामग्री वापतको कुल ३६ लाख ६४ हजार ९ सय रुपैयाँ भुक्तानी पाएका छन्।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार पुल निर्माणको जिम्मा लिएको जगदम्बा दोभान संगम ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण सम्पन्न भएको पाँच वर्षपछि जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवाला निकायहरूको निरन्तर पहल र समन्वयपछि उक्त रकम भुक्तानी गरेको हो।

भुक्तानीमध्ये २१ लाख ३४ हजार ९ सय रुपैयाँ श्रमिकहरूको बैंक खातामा जम्मा गरिएको छ भने १५ लाख ३० हजार रुपैयाँ चेकमार्फत वितरण गरिएको प्रशासनले जनाएको छ। उक्त रकम निर्माण कम्पनीका सञ्चालक बसन्त बुढाथोकीबाट श्रमिकहरूलाई उपलब्ध गराइएको हो।

यसैबीच, जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लाभित्र सञ्चालन भएका विभिन्न निर्माण आयोजनामा संलग्न निर्माण व्यवसायी तथा ठेकेदारबाट श्रम, मजदुरी वा निर्माण सामग्री वापतको रकम नपाएको अथवा ठगीमा परेको भन्दै आउने उजुरी दिनप्रतिदिन बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जारी गरेको विज्ञप्तिमा निर्माण व्यवसायी तथा ठेकेदारहरूलाई श्रमिक, व्यक्ति वा फर्महरूको कुनै पनि बाँकी भुक्तानी भए तत्काल उपलब्ध गराउन तथा जिम्मामा रहेका निर्माण कार्यहरू सम्झौताअनुसार तोकिएको समयसीमा, मापदण्ड र गुणस्तर कायम गरी सम्पन्न गर्न निर्देशन दिइएको छ। प्रशासनले निर्देशनको बेवास्ता गरे प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएको छ।

 

Leave A Reply

Your email address will not be published.