हिउँदे वर्षा नहुँदा गहुँ सुक्यो, किसानलाई भोकमरीको डर

दार्चुला । हिमाली जिल्ला दार्चुलामा लामो समयदेखि वर्षा नहुँदा गहुँबाली सुक्न थालेका छन् । पुस अन्तिम साता लागिसक्दा पनि हिउँदे वर्षा नहुँदा गहुँसहित हिउँदे तरकारी र फलफूलमा समेत प्रतिकूल असर पर्न थालेको हो । खडेरीका कारण खेतमा लगाइएको गहुँबाली सुक्दै गइरहेको स्थानीयले बताएका छन् ।

सिँचाइ सुविधा नभएका क्षेत्रमा खडेरीको असर बढी देखिएको किसानहरूको भनाइ छ । सिँचाइ अभावका कारण अधिकांश गहुँबाली सुकिसकेको र यस वर्ष उत्पादनमा कमी आउने अवस्था देखिएको स्थानीय कृषक भोजराज अवस्थीले बताए । लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुक्न थाले पछि वर्षभरि कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शिवसिंह धामीले बताए।

विशेषगरी पहाड र हिमालका उच्च लेकाली र हिमाली क्षेत्रमा सिँचाइ सुविधा नहुँदा गहुँबाली हुर्कन नसकेको उनको भनाई छ । आकाशे पानीको भरमा हुने गहुँ खेती यो वर्ष समयमा पानी नपरेको र लामो खडेरीका कारण उत्पादनमा कमी आउने किसानहरुको बुझाई छ ।

खिडेरीका कारण सिँचाइ नभएका स्थानमा उत्पादनमा ह्रास आउने र खाद्यान्न आयातमा निर्भरता बढ्ने देखिएको छ । जिल्लामा पाँच हजार नौ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । खेतीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन्।

Leave A Reply

Your email address will not be published.