दार्चुला । दार्चुलाका दुई स्थानीय तहले अव्यवस्थित रूपमा राखिएका निर्माणजन्य सामग्री हटाउन एक हप्ताको समयसिमा दिएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका र नौगाड गाउँपालिकाले सार्वजनिक सडकमा अव्यवस्थित रूपमा राखिएका निर्माणजन्य तथा अन्य सामग्री हटाउन ७ दिने समयसीमा जारी हुन ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको प्रमुख आतिथ्यतामा पौष २३ गते सम्पन्न अन्तरपालिका समन्वय बैठकको निर्णयअनुसार दुवै स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्र सार्वजनिक सूचना जारी गर्दै सडक अवरोध हटाउन आग्रह गरेका थिए । सोही अनुसार शैल्यशिखर नगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक सडक तथा बाटोमा राखिएका निर्माणजन्य लगायतका अन्य सामग्री तत्काल हटाउन अनुरोध गरेको छ ।
यस्तै नौगाड गाउँपालिकाले गोकुलेश्वर–देथला–खार–खलंगा सडकखण्डका विभिन्न स्थानमा लामो समयदेखि राखिएका निर्माणजन्य तथा अन्य सामग्री हटाउन आग्रह गरेको छ । शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टका अनुसार सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र अवरोध हटाउन आग्रह गरिएको बताएका छन् । तोकिएको समयसीमाभित्र सामग्री नहटाएमा कानुन बमोजिम अवरोध हटाउन सुरक्षा निकायसँग आवश्यक समन्वय गरी कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।
उता नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीका अनुसार सडकमा राखिएका सामग्रीका कारण सवारी आवागमनमा समस्या उत्पन्न भइरहेकाले सार्वजनिक सूचना जारी गर्नुपरेको प्रतिकृया दिएका छन् । सडकमा राखिएका निर्माणजन्य तथा अन्य सामग्रीका कारण आवागमनमा समस्या भइरहेको भन्दै व्यापक जनगुनासो आएको निष्कर्षसहित यस्ता सामग्री हटाउन लगाउने निर्णय गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
