दार्चुला । कालापानी नजिकको दार्चुलाको व्याँस गाउँपालिका वडा १ छाङरु र तिङ्करको मतदान जिल्ला सदरमुकाम खलङ्गामै हुने भएको छ । छाङरु र तिङ्कर गाउँका मतदाता सदरमुकाम खलङ्गामै रहेका तथा विगतमा भएका निर्वाचनमा समेत खलङ्गामै मतदान भएका कारण आगामी फागुन २१ को निर्वाचनसमेत जिल्ला सदरमुकाममै हुने जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रदीपसिंह धामीले जानकारी दिए ।
छाङरु र तिङ्करमा अत्यधिक चिसो बढेर हिउँ परेपछि गत मङ्सिर पहिलो साता छाङरु र तिङ्कर गाउँका सौका समुदाय सदरमुकाम खलङ्गा बसाइँ (कुञ्चा) सरेका छन् । सौका समुदायका मानिस छ महिना छाङरु र तिङ्कर गाउँमा बस्ने गर्छन् भने छ महिना सदरमुकाम खलङ्गामा बस्ने गर्छन् ।
छाङरु र तिङ्कर दुवै गाउँको निर्वाचन जिल्ला सदरमुकाममै गर्ने गरी तयारी भइरहेको छ,उनले बताए । विगतमा सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुवै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको छ ।
छाङरुको मतदान केन्द्रमा ३ सय ७५ र तिङ्करको मतदान केन्द्रमा २ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए । प्रतिनिधि सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९२ हजार ९४८ जना मतदाता कायम भएका छन् ।