लोकतन्त्रको मूल आत्मा समान अवसर, जनउत्तरदायित्व र व्यापक सहभागितामा आधारित हुन्छ। नागरिकको मत, आवाज र सक्रिय सहभागिताबाट शासन सञ्चालन हुनु नै लोकतन्त्रको सौन्दर्य हो। तर पछिल्लो समय हाम्रो राजनीतिक अभ्यास हेर्दा यो आदर्श क्रमशः कमजोर बन्दै गएको देखिन्छ। नातावाद, कृपावाद र गुटगत स्वार्थ हावी हुँदै जाँदा लोकतन्त्र जनताको शासनभन्दा केही सीमित व्यक्ति, परिवार र समूहको पहुँचको साधनजस्तो बन्दै गएको छ। यसले लोकतन्त्रप्रति जनविश्वास घटाउँदै लैजाने गम्भीर खतरा बोकेको छ।
राजनीतिक दलहरू लोकतन्त्रका मेरुदण्ड हुन्। दलभित्रै लोकतान्त्रिक अभ्यास, पारदर्शिता र न्याय नहुने हो भने राज्य सञ्चालनमा पनि ती मूल्य स्थापित हुन सक्दैनन्। तर व्यवहारमा हेर्दा राजनीतिक दलहरूभित्र अवसर वितरण पारदर्शी र निष्पक्ष हुनुपर्ने ठाउँमा भाइ, दाइ, भिनाजु, साली, आफन्त र गुटका मान्छेहरू नै प्राथमिकतामा पर्ने प्रवृत्ति मौलाउँदै गएको छ। योग्यता, क्षमता र योगदानभन्दा पनि नातागोता र पहुँच निर्णायक बन्नु लोकतन्त्रकै लागि दुर्भाग्यपूर्ण अवस्था हो।
यस प्रवृत्तिले लामो समयदेखि राजनीति र संगठन निर्माणमा योगदान दिँदै आएका इमानदार र सक्षम कार्यकर्तालाई निरुत्साहित बनाएको छ। मेहनत, त्याग र प्रतिबद्धताको मूल्य नहुँदा संगठनभित्र असन्तोष बढ्दै गएको छ। यही असन्तोष क्रमशः आक्रोशमा रूपान्तरण हुँदै जनतामा राजनीतिक वितृष्णा फैलाउने खतरा बढिरहेको छ। राजनीति सेवाको माध्यमभन्दा व्यक्तिगत उन्नति र परिवार सुरक्षित गर्ने साधनका रूपमा बुझिन थालेको छ।
संविधानले सबै नागरिकलाई समान अवसरको हक सुनिश्चित गरेको छ। तर व्यवहारमा एउटै व्यक्ति वा परिवारलाई पटक–पटक नेतृत्वमा दोहोर्याउनु संविधानको मर्मसँग मेल खाँदैन। लोकतन्त्र व्यक्तिमा होइन, प्रणालीमा बलियो हुनुपर्छ। ‘एक व्यक्ति, एक पद’ जस्ता सिद्धान्त कागजमा मात्र सीमित रहनु नातावादकै प्रतिफल हो। जब नेतृत्व केही सीमित व्यक्तिमा केन्द्रित हुन्छ, तब संस्थागत विकास अवरुद्ध हुन्छ र लोकतान्त्रिक मूल्य कमजोर बन्छ।
नातावादको असर दार्चुलाजस्ता दुर्गम जिल्लामा झन् गहिरो रूपमा देखिन्छ। यहाँ समस्या योग्य जनशक्तिको अभाव होइन, अवसरको अन्यायपूर्ण वितरण हो। शिक्षा, अनुभव र प्रतिबद्धता भएका युवाहरू हुँदाहुँदै पनि नातावाद र गुटका कारण उनीहरूलाई पछाडि पारिनु लोकतन्त्रकै अपमान हो। यसले राजनीतिक चेतना भएका युवालाई निराश बनाउँदै राजनीतिबाट टाढा धकेलिरहेको छ। परिणामस्वरूप नयाँ नेतृत्वको विकास हुन नसक्ने र पुरानै अनुहार दोहोरिरहने अवस्था सिर्जना भएको छ।
लोकतन्त्र बलियो बनाउन दलहरूले आत्मसमीक्षा गर्न अब ढिलाइ गर्नु हुँदैन। सुधार भाषण, घोषणापत्र वा नारामा होइन, व्यवहारमा देखिनुपर्छ। अवसर वितरणमा स्पष्ट मापदण्ड, पारदर्शी प्रक्रिया र आन्तरिक लोकतन्त्र सुनिश्चित गर्न सके मात्र जनविश्वास पुनःस्थापित हुन सक्छ। नातावाद र कृपावादलाई प्रोत्साहन गर्ने संस्कार त्यागेर योग्य, सक्षम र इमानदारलाई अगाडि बढाउने साहसिक निर्णय आवश्यक छ।
यदि राजनीतिक दलहरूले समयमै यो रोगको उपचार गरेनन् भने नातावादले लोकतन्त्रलाई अझै थिलथिलो बनाउँदै लैजानेछ। अन्ततः लोकतन्त्र नाममै सीमित हुने र जनताले शासनप्रति विश्वास गुमाउने जोखिम बढ्दै जानेछ। त्यसैले अबको राजनीति सबैलाई अटाउने, समान अवसर दिने र उत्तरदायी बन्ने दिशामा अघि बढ्नैपर्छ। यही नै लोकतन्त्र जोगाउने एकमात्र बाटो हो।
लेखक:- सुन्दर सिंह धामी ( पत्रकार महासंघ दार्चुलाका सचीव हुन।)