गगन पक्षमा खुले बडू

दार्चुला । । नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडू गगनकुमार थापाको पक्षमा खुलेका छन् ।

विशेष महाधिवेशनले उब्जाएको पार्टीको आन्तरिक विवादका बेला शेखरपक्षमा रहेका बडूले शनिबार विज्ञप्ति जारी गर्दै नयाँ पाटी सभापति गगन कुमार थापाको पक्षमा खुलेका हुन् ।

उनले भनेका छन्, ‘पार्टीको विशेष महाधिवेशन तथा पार्टी सुधार र रूपान्तरणका मुद्दामा चलेका बहस तथा गतिविधिहरूलाई विचार मन्थनको स्वाभाविक अभ्यासका रूपमा ग्रहण गर्दै र तिनले परिपक्व परिणाम निकाल्न गरेको महत्त्वपूर्ण योगदानका रूपमा लिँदै पार्टीका दार्चुला क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, पार्टी र भ्रातृ संस्थालाई एकताबद्ध भएर पूर्ण ऊर्जा, उत्साह र सक्रियताका साथ पार्टीको संगठन विस्तार तथा सुदृढीकरण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीले तय गरेको उम्मेदवारका पक्षमा जनताका बीचमा केन्द्रित हुन अपिल जारी गरेका हुन ।

बडूद्धारा अपिल
*** हार्दिक अह्वान एवं अपील ***
अत्यन्तै विषम र विशेष अवस्थामा यही २१ फागुन २०८२ मा देशमा सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि अन्य दलहरुले जे जस्तो निर्णय गरे पनि नेपाली कांग्रेसले जेन-जी युवा पुस्ताको मर्म र भावनालाई सम्मान गर्दै दोस्रो विशेष महाधिवेशन मार्फत शीर्ष नेतृत्व देखि नै नयाँ पीढीमा पुस्तान्तरण र रुपान्तरणको अभियानलाई व्यवहारमा नै उतार्न सफल भएको छ।
दार्चुला जिल्लामा म स्वयं स्वेच्छाले नै आफू अब सक्रिय चुनावी राजनीतिबाट विश्राम लिन चाहेको र नयाँ युवा पीढीमा पुस्तान्तरणको प्रारम्भ गर्ने तथा पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउने गरि आफ्नो सम्पूर्ण शक्ति लागाएर सहर्ष सहयोग र सहकार्य गर्ने भन्ने आफ्नो सार्वजनिक पूर्व स्वघोषणा अनुरुप नै कृयाशील छु।
पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वको संसदीय बोर्डले दार्चुलामा पनि युवाहरूको भावना र चाहना अनुरुप नै पार्टीमा नयाँ पुस्ताका कृयाशील सदस्य एवं विशिष्ट शैक्षिक योग्यता, विज्ञता र संयुक्त राष्ट्र संघ जस्तो अन्तर्राष्ट्रिय स्तरको कार्यअनुभवका दृष्टिकोणबाट समेत खारिएको युवा व्यक्तित्व शैल्यशिखर नगरपालिका-८ पपडथला, बोहरीगाउँको मध्यम बर्गीय परिवारमा हुर्केका अत्यन्तै मेधावी, मेहनती र आत्मनिर्भर युवा नेतृत्व श्री धर्मानन्द जोशी जीलाई उम्मेदवार बनाएको छ। यसका लागि नेपाली कांग्रेसका वर्तमान सभापति श्री गगन कुमार थापा र संसदीय बोर्डलाई धन्यवाद ज्ञापन गर्दछु। त्यस्तै आधिकारिक उम्मेदवार छनौटको यस प्रक्रियामा सहभागी सहयोगी जिल्ला सभापति लगायत सबै साथीहरूलाई पनि धन्यवाद भन्न चाहन्छु।
यो चुनाव सामान्य अवस्थामा हुने आवधिक चुनाव होइन । जेन-जी आन्दोलनको भावना अनुरूप नयाँ पीढीमा पुस्तान्तरण हुने गरि अधिवेशनमा सहभागी जिल्लाका प्रतिनिधि साथीहरु समेतको सहमतिमा निर्वाचित नेतृत्वले गरेको निर्णयानुसारको आकस्मिक र विशेष अवस्थाको निर्णय भएकोले सोही अनुसार सबैले स्वीकारेको अवस्था छ। उम्मेदवार जो भए पनि आफ्नो जन्म र कर्मथलोको स्थानीय भूगोल बाहेकको अन्य भेगका लागि कम परिचित र नयाँ लाग्नु स्वभाविकै हो। तर दलीय व्यवस्थामा सबै भेगका मतदाताहरु बीचमा उम्मेदवारको थप परिचय र पहूँच बिस्तार गर्ने कार्य कुनै पनि उम्मेदवारका लागि व्यक्तिगत रूपमा सम्भव हुने नभई सदैव सिङ्गो पार्टीको केन्द्र देखि स्थानीय नेता कार्यकर्ताहरु सहित सिङ्गो सस्थागत संरचना मार्फत नै हुने यथार्थ पनि हामी कसैले बिर्सनु हुदैन।
समग्रमा भन्नुपर्दा हाम्रो पार्टीका उम्मेदवार धर्मानन्द जोशीजी संघीय संसदमा आवश्यक विधायिकी कार्यक्षमताका साथै अन्य प्रभावकारी भूमिका निर्वाहका दृष्टिकोणबाट समेत जिल्लाका अन्य पार्टीका उम्मेदवारहरु भन्दा समयको माग अनुरुपको उत्कृष्ट र गर्व गर्न लायक उम्मेदवार भएकोले प्रारम्भिक जन प्रतिक्रिया पनि सकारात्मक पाइएको छ। जुन समग्र जिल्ला र हामी सवैका लागि स्वभाविक खुशीको विषय हो, भन्ने म ठान्दछु।
तसर्थ, ऐतिहासिक एवं परिवर्तनको सम्वाहक पार्टी नेपाली कांग्रेसको चुनाव चिन्ह “रुख” चिन्हमा आफ्नो अमूल्य मतदान गरि धर्मानन्द जोशीलाई भारी मतबाट विजयी गराउन हुन विशेषत दार्चुलाका युवा समूह, बिद्धिजीवी लगायत समस्त चेतनशील आदरणीय मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु। युवाहरूको आन्दोलनको मर्म अनुरुप परिणामको प्राप्ति कोरा नाराबाट नभई व्यवहारबाट मात्र साकार गर्न सकिन्छ भन्ने यथार्थ पनि नबिर्सौं भन्ने आग्रह सहित नेपाली कांग्रेसको चुनाव चिन्ह “रुख” मा मतदान गर्न हार्दिक अह्वान एवं अपील गर्दछु ।
सादर अभिवादन ! धन्यवाद, जय नेपाल ।
Leave A Reply

Your email address will not be published.