दार्चुलाका एक हजार भन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
कुन पालिकामा कति छन् खोप पाउँने किशोरीहरु
दार्चुला । दार्चुला जिल्लाका १ हजार ४५८जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ ।
सरकारको पाठेघरको मुखको क्यान्सरविरुद्धको अभियानअन्तर्गत यही माघ २७ गतेदेखि फागुन १ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख विरेन्द्र भट्ट अनुसार यस वर्षको लक्षित समूहमा जिल्लाभरका ११७ वटा विद्यालयमा अध्ययनरत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने बताएका छन् ।
भविष्यमा महिलालाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले यो खोप कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । माघ २७ देखि आगामी फागुन १ गतेसम्म विद्यालयमै पुगेर कक्षा ६ मा अध्ययनरत किशोरीलाई खोप दिइनेछ भने त्यसपछि पालिकामार्फत विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकलाई खोप सेवा प्रदान गरिने छ ।
जिल्लाभरीका १७१ वटा खोपकेन्द्रबाट यो कार्यक्रम सुरू गरिने छ । १७१ जना स्वास्थ्यकर्मी परिचालन गरिने छ । त्यतिकै संस्थामा स्वयमसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
खोप लगाउँदा सामान्य समस्या देखिन सक्ने भए पनि यसबाट कुनै दीर्घकालीन जटिलता नहुने कार्यालय प्रमुख भट्टले जानकारी दिए । नेपालमा पाठेघरको मुखको क्यान्सर बढ्दै गएपछि सरकारले गत वर्ष देखि यो सुरू कार्यक्रम सुरु गरेको थियो ।
कुन पालिकामा कति छन् खोप पाउँने किशोरीहरु
दार्चुलाका दुई नगरपालिका र सात वटा गाउँपालिका मध्ये सबै भन्दा बढि महाकाली नगरपालिकामा २८७ जना किशोरीले खोप पाउँने छन् । यस्तै शैल्यशिखर नगरपालिकामा २२१ जना मालिकार्जुन गाउँपालिकामा १९० जना, नौगाड गाउँपालिकामा २३१ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप पाउँने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै दुहूँ गाउँपालिकामा ५९ जना मार्मा गाउँपालिकामा २०७ जना अपिहिमाल गाउँपालिकामा ७३ जना लेकम गाउँपालिकामा १०२ जना व्यासँ गाउँपाकिलामा १०३ जना गरी जम्मा १हजार ४७३ जनाले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप पाउँने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका बाहेक अन्य सबै स्थानीय तहमा खोप अभियान माघ २७ गते देखि २९ गतेसम्म संञ्चालन हुन्छ भने शैल्यशिखर नगरपालिकामा फागुन १ गतेसम्म संञ्चालन हुने पनि कार्यालयले जनाएको छ ।